• ६ साउन २०८२, मङ्गलबार

युरोपेली शक्तिराष्ट्रसँग नयाँ आणविक वार्ताका लागि इरान तयार

blog

बर्लिन, साउन ५ गते । संयुक्त राज्य अमेरिकाले एक महिनाअघि इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेपछि पहिलो पटक शुक्रबार इस्तानबुलमा युरोपेली शक्तिहरूसँग नयाँ वार्ता हुने इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

इरानले तेहरानको आणविक कार्यक्रमलाई लिएर वार्ताको टेबुलमा नफर्किएमा इरानमाथि पुनः प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएपछि इरानी कूटनीतिज्ञहरूले बेलायत, फ्रान्स र जर्मनीका समकक्षीसँग भेट्ने भएका हुन् । पश्चिमा मुलुक र इजरायलले लामो समयदेखि इरानले आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले सोमबार भनेको छ, “युरोपेली मुलुकहरूको अनुरोधको जवाफमा इरान नयाँ चरणको वार्ता गर्न सहमत भएको छ ।” वार्ताको विषय इरानको आणविक कार्यक्रम हुने बताइएको छ । जर्मनीको एक कूटनीतिक स्रोतले आइतबार एएफपीलाई बताएअनुसार इ-थ्री तेहरानसँग सम्पर्कमा रहेको र इरानलाई कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न दिन नहुनेमा दृढ रहेको छ ।

“त्यसैले जर्मनी, फ्रान्स र बेलायतले इरानी आणविक कार्यक्रमको दिगो र प्रमाणीकरण योग्य कूटनीतिक समाधान खोज्न इ-३ ढाँचामा सघन रूपमा काम गरिरहेका छन्,” स्रोतले भन्यो । इजरायलले गत जुन १३ मा प्रमुख सैन्य र आणविक केन्द्रहरूलाई लक्षित गरी आफ्नो क्षेत्रीय शत्रुहरूमाथि आश्चर्यजनक आक्रमणको श्रृङ्खला सुरु गरेको थियो । संयुक्त राज्य अमेरिकाले गत जुन २२ मा तेहरानको दक्षिणमा कोम प्रान्तको फोर्डोस्थित युरेनियम संवर्धन केन्द्र र इस्फाहान र नातान्जमा रहेको आणविक स्थलमा आक्रमण गरेको थियो ।

-क्रेमलिन बैठक-

इजरायलले इरानविरुद्ध १२ दिने युद्ध सुरु गर्नुअघि इरान र संयुक्त राज्य अमेरिकाबिच ओमानी मध्यस्थकर्ताहरूमार्फत धेरै चरणको आणविक वार्ता भएको थियो । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्न इजरायलसँग सामेल हुने निर्णयपछि वार्ता अन्त्य भएको थियो ।

अमेरिकी आक्रमणको ठीक एक दिनअघि जुन २१ मा जेनेभामा इ-थ्री मुलुकले इरानी प्रतिनिधिसँग भेटवार्ता गरेका थिए । आइतबार पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक मामिलामा इरानका सर्वोच्च नेताका शीर्ष सल्लाहकार अली लारिजानीसँग क्रेमलिनमा आकस्मिक भेटवार्ता गर्नुभएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले लारिजानीले मध्यपूर्व र इरानी आणविक कार्यक्रमको बढ्दो अवस्थाबारे जानकारी गराएको बताउनुभयो । 

पुटिनले यस क्षेत्रको अवस्थालाई कसरी स्थिर बनाउने र इरानी आणविक कार्यक्रमको राजनीतिक समाधानका बारेमा रुसको पूरानै अडान व्यक्त गर्नुभएको थियो । मस्कोको इरानी नेतृत्वसँग सौहार्दपूर्ण सम्बन्ध छ र तेहरानलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्दछ तर संयुक्त राज्य अमेरिका इजरायलको बमबारी अभियानमा सामेल भएपछि पनि आफ्नो साझेदारसँग सहकार्य गरेको देखिएन ।

-पुनः प्रतिबन्ध लगाउने चेतावनी-

इरान र विश्व शक्तिराष्ट्रबिच सन् २०१५ मा ‘संयुक्त बृहत् कार्य योजना (जेसीपीओए)’ नामक सम्झौता भएको थियो । तर सन् २०१८ मा ट्रम्पको पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि यो सम्झौता असफल भएको थियो । हालैका दिनहरूमा युरोपेली देशहरूले सम्झौतामा समावेश गरिएको ‘ इरानविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको द्रुत र स्वचालित फिर्तीको लागि अनुमतिको संयन्त्र अर्थात स्न्यापब्याक संयन्त्र’ लाई सक्रिय पार्ने चेतावनी दिएका छन् ।

आफ्ना युरोपेली समकक्षीहरूसँगको वार्तापछि पश्चिमा मित्रराष्ट्रहरूसँग स्न्यापब्याक प्रतिबन्धहरू पुनः सक्रिय गर्ने ‘कुनै नैतिक वा कानुनी आधार’ नभएको इरानी विदेशमन्त्री अब्बास अराघचीले आइतबार सामाजिक सञ्जालमा लेख्नुभएको थियो । “इजरायली शासन र अमेरिकाको हालैको अकारण र अवैध सैन्य आक्रमणलाई राजनीतिक र भौतिक समर्थन प्रदान गर्ने लगायत आफ्ना कार्य र बयानमार्फत इ-थ्रीले जेसीपीओएमा ‘सहभागी’ को रूपमा आफ्नो भूमिका त्यागेको छ,” अराघचीले भन्नुभएको छ । 

यसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को खारेजीको प्रस्तावलाई पुनःस्थापित गर्ने कुनै पनि प्रयासलाई ’अस्वीकृत र अमान्य’ बनाएको उहाँले बताउनुभयो । अराघचीले लेख्नुभएको छ, “इरानले कुनै पनि भ्रमपूर्ण ‘फोहोरी काम’ लाई परास्त गर्न सक्षम रहेको देखाएको छ तर सदाचारका साथ अर्थपूर्ण कूटनीतिको प्रतिकार गर्न सधैं तयार रहेको छ ।

यद्यपि, जर्मन स्रोतले आइतबार भनेको छ, “यदि ग्रीष्मयाममा कुनै समाधानमा पुग्न सकिएन भने, इ-थ्रीको लागि स्न्यापब्याक एक विकल्प रहने छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकार अली बेलायतीले गत हप्ता तेहरानले युरेनियम संवद्र्धन गतिविधि त्याग्ने शर्त राखेमा अमेरिकासँग नयाँ आणविक वार्ता नहुने बताउनुभएको थियो । रासस/एएफपी