• ३ साउन २०८२, शनिबार

‘बलिदान’ को साठी फुटको पोस्टर

blog

काठमाडौं, साउन ३ गते । दसैँको फूलपातीमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बलिदान’ को ६० फिट अग्लो र १६ फिट चौडाइको पोस्टर काठमाडौँस्थित बिहीबार काठमाडौँको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको पोस्टरले चलचित्रको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गर्दै दर्शकको ध्यान खिच्न सफल भएको छ ।

पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भाला जस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ । दृश्यले फिल्मको द्वन्द्वात्मक स्वभाव र गहिरो देशभक्तिपूर्ण सन्देश झल्काउँछन् । 

‘आसुसेन फिल्म्स प्रालि’ को प्रस्तुति रहेको ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, कविता रायसँगै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा सन्तोष सेनको निर्देशन रहेको छ ।