• ३ साउन २०८२, शनिबार

किमाथाङ्का देशकै महत्त्वपूर्ण नाका हो : ऊर्जा मन्त्री खड्का

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का शनिबार सङ्खुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन समारोहमा बोल्नुहुँदै । तस्बिर : सुजन बज्राचार्य

सुजन बज्राचार्य
सङ्खुवासभा, साउन ३ गते ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताउनुभएको छ । शनिबार सङ्खुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले यो नाका १२ महिना सञ्चालन गर्न सकिने भएकाले सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो ।

मन्त्री खड्काले किमाथाङ्का नाकामा चीन सरकारको पनि चासो रहेको उल्लेख गर्दै यस नाकाको पूर्वाधार निर्माणमा चिनियाँ सहयोग प्राप्त हुने जानकारी दिनुभयो । “सडक सञ्जाल जोडिएपछि नाका सञ्चालनमा आउने छ, जसले व्यापार र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उहाँले बताउनुभयो । साथै, त्रिदेशीय सम्बन्धलाई सन्तुलनमा राख्दै अघि बढ्नुपर्नेमा पनि मन्त्री खड्काले जोड दिनुभयो ।

उहाँले सङ्खुवासभामा रहेका ठुला जलविद्युत् आयोजनामा भारत सरकारको लगानी रहेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग समन्वय गर्दै विकासका काम अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।

नव उद्घाटन गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयमार्फत जलस्रोतको दीगो उपयोग गरी कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको मन्त्री खड्काले जानकारी दिनुभयो । प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्ष समेटिएको उक्त आयोजनाले चार जिल्लामा सेवा पुर्‍याउने छ ।

“स्रोत र सम्भावना भएर पनि सङ्खुवासभापछि परिरहेको थियो, अब जनताको चाहनाअनुसार बजेट विनियोजन गरिएको छ,” मन्त्री खड्काले भन्नुभयो । ऊर्जा क्षेत्रको ८० प्रतिशत काम मन्त्रालयले सम्पन्न गरिसकेको पनि जानकारी मन्त्री खड्काले जानकारी दिनुभयो ।