• ३ साउन २०८२, शनिबार

गोरखामा ६२ प्रतिशत रोपाइँ

blog

गुणबहादुर रोका 
सुलीकोट, साउन ३ गते  ।
गोरखामा हालसम्म ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष  मनसुन वर्षा कम परेकाले जेठको अन्तिमबाट रोपाइँ सुरु भएता पनि गोरखामा अत्यन्तै कम वर्षा भएकाले पनि शुक्रबारसम्म जम्मा ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

अहिलेसम्म पनि गोरखामा सिचाइँ भएका कुलो नहरहरूको खेतमा रोपाइँ सम्पन्न भएको छ । आकाशे पानी परी मुल फुटेर रोपाइँ हुने खेतहरू भने रोपाइँ गर्ने पक्रियामा रहेको कृषि ज्ञानकेन्द्र गोरखाका अर्थ विज्ञ सुमन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन २ गतेसम्म ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गोरखा जिल्लामा रहेको धान खेती हुने १० हजार एक सय ४० हेक्टर क्षेत्रफलमध्ये ६ हजार एक सय हेक्टर क्षेत्रफलमा अर्थात् ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

गोरखाका मुख्य मुख्य फाँटहरूमा रोपाइँ सम्पन्न भएका छन् भने टारी फाँटहरूमा आकशे पानीको भर पर्दा रोपाइँ ढिला हुन पुगेको कृषि ज्ञान केन्द्र गोरखाले जानकारी दिएको छ । अझै पनि गोरखामा वर्षा कम भएता पनि साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भएकाले पनि गोरखामा लगभग ९५ प्रतिशत रोपाइँ हुनेमा विश्वास रहेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीको भनाइ छ ।

गोरखामा १० हजार एक सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएकाले पानीको मुल फुट्न ढिलाइ भएकाले पनि गोरखाका फाँटहरूमा छिटो रोपाइँ हुन नसकेको कृषि ज्ञान गोरखाका प्रमुख बस्ताकोटीले बताउनुभयो ।

किसानहरूले गोरखामा साउन महिनाको अन्तिमसम्म रोपाइँ गर्ने भएकाले आगामी दिनमा रोपाइँ प्रतिशत वृद्धि भएसँगै उत्पादनमा समेत वृद्धि हुने आफुहरूले विश्वास लिएको कार्यालय प्रमुख बस्ताकोटीको भनाइ छ ।