• ३ साउन २०८२, शनिबार

आमा सुरक्षा कार्यक्रम बन्द नगर्न माग गर्दै बाँकेका आठ दलको विरोध

blog

आठ दलको तर्फबाट आमा सुरक्षा कार्यक्रम लागु गर्न नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, साउन ३ गते ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आमा सुरक्षा कार्यक्रम नवीकरण नगरेर बन्द गरेको जनाउँदै बाँकेका आठ राजनैतिक दलहरूले विरोध गर्दै पुनः सञ्चालन गर्न माग गरेका छन् ।

जिल्लाका आठ वटा राजनितिक दलका प्रतिनिधिहरूले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई भेटेर आमा सुरक्षा कार्यक्रम सुरु गराउन माग गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् ।

नेपाल सरकारद्वारा लागु गरिएको आमा सुरक्षा कार्यक्रम बन्द गरिएको जनाउँदै मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले असार ३२ गते सूचना प्रकाशन गरेपछि आठ राजनैतिक दलहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विरोधमा उत्रिएका हुन् ।

शिक्षण अस्पताल कोहलपुरमा पुनः आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न माग गर्दै नेकपा माओवादी केन्द्र कोहलपुरका अध्यक्ष बलबहादुर खड्का, नागरिक उन्मिुक्ति पार्टी बाँकेका अध्यक्ष सुरेश कुमार थारू, नेसपा नयाँशक्तिका जिल्ला अध्यक्ष बुद्ध सुनार, राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरका कावा सभापति मेनप्रसाद देवकोटा, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष तिलकराज पौडेल, नेकपा एसका नगर अध्यक्ष प्रेमिका शाही, नेकपा बहुमतका नगर अध्यक्ष हीरा तिवारी र क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला सदस्य देवेन्द्र मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउनुका साथै विज्ञप्ति पनि प्रकाशित गरिएको छ ।

आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि सङ्घीय सरकारलाई स्थानीय सरकारका तर्फबाट अबिलम्ब सिफारिस गरी सो कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गर्दै कोहलपुर क्षेत्रमा रहेको मेडिकल कलेजले यस क्षेत्रका जनतालाई सर्वसुलभ र सहज स्वाथ्य सेवा उपलब्ध गराउनका लागि आठ दलले आग्रह गरेको नेकपा माओवादी कोहलपुरका अध्यक्ष बलबहादुर खड्काले बताउनुभयो ।

उहाँले तत्काल कार्यक्रम सुरु नगरिए कार्यक्रम बन्द गर्ने शिक्षण अस्पताल र नवीकरण नगर्ने कोहलपुर नगरपालिका दुवैविरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिइएको बताउनुभयो ।

उता, कोहलपुर नगरपालिकाले भने शिक्षण अस्पताल कोहलपुरले प्रक्रिया मिचेर नवीकरण गर्न आएको तथा नि:शुल्क सेवाहरूका लागि पनि चर्को शुल्क असुल गरेको गुनासो आएको जनाउँदै सोही कारणले नवीकरण नगरिएको जनाएको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले विपन्न नागरिक औषधी उपचार निर्देशिका अन्तर्गत कोहलपुर लगायत अन्य जिल्लाबाट आउने बिरामीहरूको जाँचपड्तालमा समेत शुल्क लिने गरेको र कतिपय सवालहरूमा इमरजेन्सी भनेर डायलाइसिसको समेत शुल्क लिने गरेको बिरामीबाट गुनासो आइरहेकोले छानबिन गर्नुपर्ने बताउनुभयो ।