• ३ साउन २०८२, शनिबार

म्याग्दीका उत्कृष्ट सामुदायिक वन समूह पुरस्कृत

blog

पुरस्कृत हुने वन उपभोक्ता समूहका पदाधिकारी र कर्मचारीहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, साउन ३ गते ।
म्याग्दीका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने तीन वटा सामुदायिक वन उभोक्ता समूहलाई छनोट गरी पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने वन समूहतर्फ भगवती सामुदायिक वन उपभोक्ता समूह मालिका गाउँपालिका–६, दरबाङ प्रथम, वराहपाखो सामुदायिक वन उपभोक्ता समूह बेनी नगरपालिका–७ र ८, बेनीबजार द्वितीय तथा जनहित सामुदायिक वन उपभोक्ता समूह रघुगङ्गा गाउँपालिका–२, राखुभगवती तृतीय भएका छन् । पुरस्कृत हुने वन समूहका पदाधिकारीहरूलाई क्रमशः नगद १० हजार, सात हजार पाँच सय र पाँच हजार रुपियाँसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी, गतवर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीतर्फ डिभिजन वन कार्यालय म्याग्दीको लेखापाल पदमा कार्यरत भीष्म थापा र वन तथा वातावरण संरक्षणको क्षेत्रमा पत्रकारिताको माध्यमबाट सकारात्मक सन्देश प्रचारप्रसार गरी आवश्यक सहयोग पुर्‍याएको भन्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

उत्कृष्ट वन समूह, कर्मचारी र पत्रकारलाई डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारी, वन अधिकृत चन्द्रमणि सापकोटा र खरिदार गोविन्दप्रसाद सुवेदीले नगद तथा सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले नियमित रूपमा हुँदै आइरहेको कार्यक्रमअन्तर्गत यसवर्ष पनि सम्मानको कार्यक्रम आयोजना गरिएको बताउँदै वन, जङ्गल क्षेत्र र वन्यजन्तु जनावरण तथा पशुपक्षीहरूको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

म्याग्दी जिल्लामा कुल सामुदायिक वनहरू तीन सय ११ वटा रहेका छन् भने दुई वटा धार्मिक वन र एक वटा कबुलियत वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।