राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), साउन ३ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले एक वर्षमा एक करोड ४१ लाख ५३ हजार पाँच सय रुपिँया राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा सङ्कलित उक्त राजस्व अहिलेसम्मकै धेरै हो ।
पछिल्लो तीन वर्ष यता राजस्व सङ्कलन बढ्दो क्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०८०/८१ मा एक करोड दस लाख ९७ हजार रुपिँया राजस्व सङकलन भएको थियो ।
यो अवधीमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै मोटरसाइकल र सबैभन्दा कम ट्याक्टर चालकलाई कारबाही गरेको छ । छ हजार सात सय ९३ मोटरसाइकल र एक हजार चार सय १५ ट्याक्टर चालकलाई कारबाही गरिएको प्रमुख गौलीले जानकारी दिनुभयो ।
सो आवमा दुई हजार एक सय ९५ ट्रक, दुई हजार पाँच सय १४ बस, चार हजार ७५ जीप, कार, भेन र दुई हजार दुई सय ९७ अन्य सवारी साधन गरी १९ हजार २८१ सवारी साधन र त्यसका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।
यसैबिच मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने एक हजार चार २५ जना चालक र लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने १३ जना चालकलाई कारवाही तथा अनुसन्धान गरिएको गौलीले बताउनुभयो ।
एक वर्षमा जिल्लामा १८ वटा दुर्घटना भएका छन् । जसमा नौ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा परेर १५ जना गम्भिर र पाँच जना सामान्य घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामुलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाइका साथ पालना गराउँदा दुर्घटना कमी आएको ट्राफिक प्रहरीको भनाइ छ ।
आर्थिक वर्ष २०८१/८२ मा चार हजार चार सय ८५ पटक चनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको प्रहरीको भनाइ छ । यसमा एक लाख १० हजार ३२० जनालाई ट्राफिक नियमसम्बन्धी जानकारी गराइएको कार्यालयले जनाएको छ ।
सिद्धार्थ राजमार्गको झण्डै ९० किलोमिटर क्षेत्र स्याङ्जा जिल्लामा पर्दछ । घुम्ती र पुरानो सडक भएको कारण नियमति चेकचाँज गर्न समस्या हुँदै आएको प्रहरीको भनाइ छ ।