• ३ साउन २०८२, शनिबार

गुल्मीमा ७८.४ प्रतिशत धान रोपाइँ

blog

रमेश विश्वकर्मा 
गुल्मी, साउन ३ गते ।
गुल्मीमा हालसम्म ७८.४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालका अनुसार यस जिल्लामा सात हजार ४३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ । जस अनुसार हालसम्म पाँच हजार ८३५ दशमलव चार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको उहाँको भनाइ छ ।

यस वर्ष असारमै रोपाइँ तीव्र गतिमा भएको छ । तर मनसुन कमजोर हुँदा सिँचाइको अभाव भएका पाखा र उच्च भेगका क्षेत्रहरूमा अझै रोपाइँ बाँकी रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यो वर्ष पानी समयमै नआएकाले वर्षे धान रोपाइँमा ढिलाइ भएको किसानहरूको गुनासो छ । पानी अभावकै कारण केही किसानले रोपाइँ गर्ने समय कुरेर बसेका छन् ।

यस जिल्लामा ४७ हजार २८५ हेक्टर खेतीयोग्य जमिन छ । गुल्मीका अधिकांश खेतहरूमा रोपाइँ सकिएको छ । तर, चैते धान रोपाइँ भएका र सिँचाइको सुविधा नपुगेका खेतमा अझै रोपाइँ बाँकी रहेको छ । केही खेतमा चैते धान वा मकै लगाइएको छ । ती खेतमा मकै तथा धान भित्र्याउने काम भएको छ । ती खेतमा पनि अझै वर्षे धान रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नरेश धितालले जानकारी दिनुभयो ।

यहाँका केही स्थानमा चैते धान खेती पनि गरिन्छ । पछिल्लो समय यो पनि घट्दै गएको छ । आर्थिक वर्ष २०८०–०८१ मा चैते धान ३१९ हेक्टर क्षेत्रमा खेती गरिएको थियो । यस वर्ष त्यो घटेर ३०२ हेक्टरमा सीमित भएको छ । उत्पादन पनि थोरै घट्ने अनुमान गरिएको छ । गत वर्ष एक हजार २८६ मेट्रिक टन चैते धान उत्पादन भएकोमा यो वर्ष करिब एक हजार २२५ टन मात्र उत्पादन हुने अनुमान गरिएको छ ।

खेती योग्य जमिन पछिल्लो समयमा बाँझिदै जानुमा युवाहरुको विदेश पलायन, गाउँमा वृद्धवृद्धाहरु मात्रै रहनु र बढ्दो बसाइँसराइँको कारण रहेको पाइएको छ । यस जिल्लामा विभिन्न जातका धान जात रोपिन्छ । स्थानीय जातमा मार्सी, हंशराज, झोप्री, झिनुवा, कोदे, भट्टे, बडियारे, गुडुरो जस्ता जात लोकप्रिय छन् । उन्नत जातका धानमा सावाँ–१, रामधान, हिमाली प्रयोग गरिन्छ। चैते धानका लागि चैते–५, सीएच–४५, हर्दिनाथ–१ मुख्य जातका धान कृषकहरुले लगाउँदै आएका छन् ।

यस जिल्लाका १२ वटै स्थानीय तहमा धान खेती गरिन्छ । विशेषगरी कालीगण्डकी गाउँपालिकाको अर्बेनी, कनौटा, छापचौर, चन्द्रकोटको मजुवा, रूपाकोट, सत्यवतीको लिम्घा, अस्लेवा, मुसीकोटको तल्लोफाँट, भुवाचिदी, मालिका, मदाने, धुर्कोटको हुलाके र इस्माको चौरासी फाँट लगायतका विभिन्न स्थानमा धान खेती हुने गरेको छ ।