• ३ साउन २०८२, शनिबार

सुक्न थाल्यो रोपो

blog

शुक्लाफाँटाका कृषक कमला दमाईंले लगाउनुभएको धान सुक्दै ।

बेलौरी समाचारदाता

कञ्चनपुर, साउन ३ गते । कञ्चनपुरका अधिकांश क्षेत्रमा रोपेको धान सुक्न थालेको छ । वर्षा नहुँदा रोपेको धान सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । 

कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर, लालझाँडी, वेदकोटमा धान सुक्न थालेको छ । असारमा रोपाइँ गरेका कृषकले पानी नपर्दा धान सुक्न थालेको बताएका छन् । आकासे पानीका भरमा रोपाइँ गरेका शुक्लाफाँटा नगरपालिका–१० का कृषक कमला दमाईंले छ कट्ठामा रोपेको धान एक महिनासम्म पनि पर्याप्त पानी नपर्दा सुक्दै गएको दुःखेसो पोख्नुभयो । 

धान रोपाइँमा ट्याक्टरको जोताइ, मलखाद गरी नौ हजारभन्दा बढी लगानी खेर गाएको बताउनुभयो । यस्तै सोही ठाउँका भीम दमाईंले आठ कट्ठामा धान रोपेकोमा अहिले सुक्दै गएको दुःखेसो पोख्नुभयो । 

शुक्लाफाँटा नगरपालिकाका कृषि शााखा प्रमुख करनसिंह बुढाऐरले कृषकले धान रोपेपछि पानी पर्न छोड्दा उँचो स्थानमा धान सुक्न थालेको बताउनुभयो । समयमै पानी नपर्दा धानमा गबारो पनि देखिन थालेको उहाँले बताउनुभयो । नहरको सिँचाइ सुविधा नपुगेका क्षेत्रमा किसानले धान सुक्दै गएको दुःखेसो पोखेका छन् भने नहर पुगेका क्षेत्रमा समेत नहरको पानी लगाउन पालो नपुगेको भन्दै धान उत्पादन घट्नेमा चिन्ता गरेका छन् । 

यसपालि धान खेतीका लागि आवश्यक पर्ने वर्षा नहुँदा जिल्लाका विभिन्न क्षेत्रमा धान सुक्दै गएको कृषि प्राविधिकले बताएका छन् । 

केही दिनदेखि कञ्चनपुरमा पर्याप्त वर्षा नभएको महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जयकुमार शाहले बताउनुभयो । उहाँका अनुसार आगामी आइतबारसम्म कञ्चनपुरमा वर्षा नहुने देखिएको छ । सोमबारदेखि भने केही वर्षा हुने अनुमान गरिएको उहाँले बताउनुभयो । 

कञ्चनपुरमा कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर रहेको छ । जिल्लामा ४८ हजार ४९६ हेक्टरमा धान खेती हुँदै आएको छ । जिल्लमा झन्डै १० हजार हेक्टरमा सिँचाइ सुविधा नपुगेको कृषि ज्ञान केन्द्र महेन्द्रनगर कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले बताउनुभयो ।