मकवानपुर समाचारदाता
मकवानपुर, साउन ३ गते । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को अनुपातमा गत आव २०८१/८२ मा निर्यातमा वृद्धि भएको हो ।
गत आवमा मकवानपुरबाट निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी ४० करोड ४२ लाख ८२ लाख ७९ हजार ९४३ रुपियाँ बराबरको निर्यात गरेको उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ) ले जनाएको छ । आव २०८०/८१ मा ३५ करोड ४५ लाख ७४ हजार छ सय रुपियाँ बराबरको निर्यात भएको थियो । मउवासङ्घका अनुसार गत आवमा भएको निर्यात आव २०७८/७९ मा भन्दा कम हो ।
आव २०७८/७९ को तुलनामा आव २०८०/८१ मा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको थियो ।
मउवासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्ने सरकारको नीतिको अभावमा निर्यात व्यापार अपेक्षा अनुसार नबढेको बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण बनाएर निर्यात व्यापार वृद्धि गर्न निर्यातजन्य उद्योगलाई सरकारले थप सुविधा दिनुपर्नेमा जोड दिनुभयो ।
आव २०७९/८० मा मकवानपुर जिल्लाका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले एक अर्ब १५ करोड २१ लाख ६० हजार ५६६ रुपियाँ बराबरको निर्यात गरेका थिए । मउवासङ्घका अनुसार आव २०७८/७९ मा यस जिल्लाबाट उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी एक अर्ब ५५ करोड ५६ लाख ८० हजार १२९ रुपियाँ बराबरको निर्यात गरेका थिए ।
निर्यातजन्य दुई उद्योग थपिए
गत आवमा मकवानपुरबाट थप दुई उद्योगले निर्यात गरेका छन् । आव २०८०/८१ मा छ वटा उद्योगले निर्यात गरेमा गत आवमा आठ वटा उद्योगले आफ्नो उत्पादन निर्यात गरेका हुन् ।
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड र सिद्धिश्री इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन निर्यात गरेका हुन् । युनिलिभर नेपाल लिमिटेडले लामो समयको अन्तरालपछि आफ्नो उत्पादन भारत निकासी गरेको हो ।
बिर्को निर्यात गर्दै आएको प्याक्ट ग्रुप क्लोजर सिस्टम इन्टरनेसनल (नेपाल) प्रालिको यस जिल्लाबाट हुने निर्यातमा ठुलो हिस्सा रहेको छ । भारतसहित तेस्रो मुलुक फिजी र अस्ट्रेलियामा निर्यात गर्दै आएको उक्त उद्योगले गत आवमा ३२ करोड ५४ लाख एक हजार ७१५ रुपियाँ बराबरको निकासी गरेको सङ्घले जनाएको छ ।
प्याक्ट ग्रुप क्लोजरपछि नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि र इभान्स लाइफ साइन्सेस प्रालिको निर्यात व्यापारमा बढी योगदान रहेको छ । नेपाल इकरातले ट्रान्सफर्मर र इभान्स लाइफ साइन्सेसले लोठ सल्लाको पाउडर निकासी गर्दै आएको छ ।
अघिल्लो आवमा पफ भारत निर्यात गरेको खजुरीको नेपाल प्रालिले गत आवमा निकासी गरेन । भारत, अस्ट्रेलिया, फिजी, बङ्गलादेश, भुटान र संयुक्त अरब इमिरेट्समा गत आवमा निकासी भए पनि सबैभन्दा बढी भारततर्फ निर्यात भएको सङ्घको तथ्याङ्क छ । आव २०७८/७९ मा एक व्यापारिक प्रतिष्ठान र चार वटा उद्योगले भारत र तेस्रो मुलुकमा खाद्य पदार्थसहित औद्योगिक उत्पादन निर्यात गरेका थिए । सङ्घले सिराहा जिल्लामा रहेको आफ्नो उत्पादन भारत निकासी गर्ने हिमालयन कत्था उद्योग प्रालिका लागि समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको जनाएको छ ।