अमृतप्रसाद पौडेल
म्याग्दी, साउन २ गते । असार महिना सकिए पनि म्याग्दी जिल्लामा भने ७५ प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
साउन १ गतेसम्मको तथ्याङ्क अनुसार जिल्ला भरमा धान रोपाइँ हुने कुल क्षेत्रफलको ७५ प्रतिशतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म बेनी नगरपालिकामा ७० प्रतिशत, मालिका गाउँपालिकामा ६५ प्रतिशत तथा रघुगङ्गा गाउँपालिकामा ८० प्रतिशत धानखेतमा रोपाइँ भएको छ ।
त्यसैगरी मङ्गला गाउँपालिकामा ८५ प्रतिशत, धवलागिरी गाउँपालिकामा ८० प्रतिशत र अन्नपूर्ण गाउँपालिकामा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धान रोपाइँ हुने कुल तीन हजार आठ सय छ हेक्टरमध्ये ७५ प्रतिशतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी गङ्गा लामिछानेले जानकारी दिनुभयो ।
जिल्लाको माथिल्लो उच्च पहाडी भेकमा करिब ७० देखि ८५ प्रतिशतसम्म रोपाइँ भएको भए पनि तल्लो भेकमा कम रोपाइँ भएको कारणले गर्दा अहिले एकिन तथ्याङ्क निकाली सकिएको नभए पनि ७५ प्रतिशतभन्दा माथि भएको छैन । गत वर्षको भन्दा यस वर्षको यही अवधिमा बढी भएको भए पनि योभन्दा धेरै हुनुपर्ने ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको यही अवधिमा ६५ प्रतिशत रोपाइँ भएको सूचना अधिकारी लामिछानेले बताउनुभयो ।
म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम मराङ्ग, बिम तथा मालिका गाउँपालिकाको दरवाङ, रातोढुङ्गा, मङ्गला गाउँपालिकाको सहस्रधारा, बाबियाचौर सिमलचौर क्षेत्रमा पनि पूरा रोपाइँ हुन सकेको छैन । अर्मन कुँहु तथा बरंजाका पनि सबै क्षेत्रमा रोपाइँ सकिएको छैन ।
स्थानीय तह अनुसार हेर्दा सबैभन्दा थोरै मालिक गाउँपालिकामा ६५ प्रतिशत देखिन्छ भने त्यसपछि बेनी नगरपालिकामा ७० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बेनी नगरपालिकाको सिंगा बास्कुना क्षेत्रमा सुन्तला बगान भएको भए पनि अन्यत्रको क्षेत्रमा रापाइँ कम भएको हो । साउनको १ गतेसम्मको तथ्याङ्क हेर्दा नगरपालिका क्षेत्रभित्र गत वर्ष ५५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।