• ६ जेठ २०८१, आइतबार

उच्चजोखिमका १३ घर सुरक्षित स्थलमा सारियो

blog

विस्थापित भएका खोला किनारको बस्ति । जहाँ तटबन्धन हुँदै आएको थियो । तस्बिर : विष्णुप्रसाद पोखरेल

दमक, असार ६ गते । आइतवार साँझदेखि लगातर आएको अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं.७ रेडक्रस भवन पछाडि रहेका १३ वटा घरहरुमा उच्च जोखिममा परेपछि सुरक्षित स्थलमा सारिएको छ । खोला किनार नजिक रहेको बस्तीमा कटान गर्न शुरु गरेपछि यहाँ स्थानीयहरु रातभर जागै बसेका थिए ।

दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालका अनुसार खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कू, राजेश किस्कू , मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दिपक गुरुङको घरपरिवार विस्थापित भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता वसन्त पाठकका अनुसार नेपाल प्रहरीले स्थानीयको सहयोगमा उनिहरुलाई सुरक्षित स्थलमा जानका लागि सहयोग गरेको छ । बाढीको उच्च जोखिममा परेका १३ घरपरिवारलाई प्रहरीले उद्धार गरेको उहाँले जानकारी दिनुभएको छ ।

यसैगरी रतुवा खोलामा आएको बाढीका कारण नै गौरादह ६ स्थित टंगुवा बस्तीमा २५ घर परिवार डुवानमा परेको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परे पनि अहिलेसम्म यहाँ कुनै परिवार विस्थापित भने भएको छैन ।

Author

विष्णुप्रसाद पोखरेल