• ६ जेठ २०८१, आइतबार

थपिँदै विषादी परीक्षण प्रयोगशाला

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार ६ गते । तरकारी तथा फलफूलमा द्रुत विषादी अवशेष परीक्षण प्रयोगशाला थप आठ स्थानमा स्थापना गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कृषि केन्द्रीय प्रयोगशालाले आगामी साउनदेखि ती प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो । हाल देशका विभिन्न सात स्थानमा यस्ता प्रयोगशाला सञ्चालनमा छन् । 

विदेशबाट आयात हुने तरकारी र फलफूलको अनिवार्य विषादी परीक्षण गर्ने भन्दै सरकारले २०७६ असारमा राजपत्रमा प्रकाशित भएको थियो । नाकामा विषादी परीक्षण गर्ने यो नीतिविरुद्ध भारतले आपत्ति जनाएपछि केही समय स्थगित भएको उक्त निर्णय सर्वोच्च अदालतले विषादी परीक्षण गर्नु भन्ने अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि सरकारले प्रयोगशाला स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ आगाडि बढाएको हो ।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी, रसुवागढी, कृष्णनगर–गड्डाचौकी भन्सार नाका, चोभार सुक्खा बन्दरगाह तथा सिर्सिया सुक्खा बन्दरगाहबाट विषादी परीक्षण सुरु गर्ने तयारी भएको हो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा पनि उपकरणसहितको जनशक्ति उपलब्ध गराउने विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. मतिना वैद्य (जोशी)ले हाल परीक्षण हुँदै आएका स्थानबाहेकका नाकाबाट ठूलो परिमाणमा तरकारी र फलफूल भित्रिने हुँदा थप प्रयोगशाला सञ्चालनको तयारी गरेको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “यसका लागि आवश्यक मेसिन आउन थालेका छन्, असारभित्रै सबै सामान आइपुग्छन् ।” 

महानिर्देशक वैद्यले आगामी आर्थिक वर्षको सुरुदेखि नै थप अन्तर्राष्ट्रिय नाकामा विषादी परीक्षण सुरु हुने गरी काम भइरहेको जानकारी दिनुुभयो । उहाँका अनुसार ती नाकामा आरबीपीआर विधिमार्फत अर्गानो फस्फेट र कार्बामेट समूहको विषादी परीक्षण गरिनेछ । विषादी परीक्षणका लागि ताइवानको टेक्नोलोजी र किट खरिद गरिएको छ । 

विभागका अनुसार तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्नेछ, जसमा आरबीपीआर परीक्षणमार्फत विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय होल्ड गरेर खान योग्य र खान अयोग्य भनेर छुट्याउनेछ ।

हाल काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै परीक्षण हुुँदै आएको छ । सञ्चालनमा रहेका प्रयोगशालामध्ये चारवटा कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत छन् भने तीनवटा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत रहेका छन् । 

 भएकै प्रयोगशाला समस्यामा

हाल सञ्चालनमा रहेका ती प्रयोगशालाबाट पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव कारण देखाउँदै प्रभावकारी काम गर्न सकेका छैन । 

केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत रहेको कालीमाटी तरकारी बजार परिषद्को द्रुत विषादी अवशेष प्रयोगशाला हाल एक जना करारमा राखिएका कृषि प्राविधिकको भरमा सञ्चालन हुँदै आएको छ । हाल देशका विभिन्न सात नाकामा रहेका प्रयोगशालाको अवस्था कालीमाटीभन्दा पनि अझै दयनीय रहेको कृषि अनुसन्धान अधिकृत प्रकाश घिमिरेले स्वीकार गर्नुुभयो । 

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले देशकै ठूलो तरकारी बजारमा सञ्चालित प्रयोगशालाको अवस्थाले देशका विभिन्न सात नाकामा रहेका प्रयोगशालाको अवस्था कस्तो छ भन्ने अनुुमान लगाउन सकिने बताउनुुभयो । सञ्चालनमै रहेका प्रयोगशाला त जनशक्तिको समस्या देखाएर चलाउन नसकिरहेको अवस्थामा खाद्य प्रविधि विभागले थप गरिएका प्रयोगशाला कसरी चलाउँछ उहाँले प्रश्न गर्नुुभयो। 

जनशक्तिको समस्या हुँदैन

खाद्य प्रविधि विभागका महानिर्देशक डा. वैद्यले प्रयोगशाला सञ्चालनका लागि आवश्यक जनशक्ति ठूलो समस्या नभएको बताउनुुभयो । उहाँका अनुसार हाल विभागसँग भएकै जनशक्तिलाई एक साताको तालिम दिएर परिचालन गर्ने र पछि छुुट्टै दरबन्दी सिर्जना गर्ने बताउनुभयो ।