• १३ वैशाख २०८१, बिहिबार

काठमाडौं र ललितपुर महानगरमा निर्णय कार्यान्वयनको अवस्था

blog

काठमाडौं, असार ५ गते । स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात नवनिर्वाचित पालिकाका पदाधिकारीले पहिलो कार्यपालिका बैठकमा विभिन्न निर्णय गरेका छन् । निर्वाचित प्रतिनिधिले गरेका निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने मतदाताको अपेक्षा हुन्छ । जनप्रतिनिधिले गर्ने पहिलो निर्णय कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने आम मतदाताको चासो हुन्छ ।  जनप्रतिनिधिले तत्कालको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै निर्णय गर्ने गरेका छन् । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने नेपालीको चलन नै हो । पालिकाका प्रतिनिधिले निर्णय कार्यान्वयन गर्न सक्छन् या सक्दैनन् यो चासोको विषय हो । 

ललितपुर महानगरको निर्णय कार्यान्वयनको अवस्था 

जेठ २० गते बसेको ललितपुर महानगरपालिकाकाे पहिलो नगर कार्यपालिका बैठकले तीन वटा निर्णय गरेको छ । ललितपुर महानगरका प्रमुख, उपप्रमुख तथा २९ वडाका वडाध्यक्षको बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको हो । वडास्तरीय योजनाको समग्र व्यवस्थापन, लागत अनुमान, सम्झौता र कामको अनुगमन गर्ने निर्णय भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो । 

दोस्रोमा राजस्व सङ्कलन प्रणालीलाई व्यवस्थित बनाउने निर्णय भएको छ । जसमा व्यवसाय कर वडाबाट सङ्कलन हुने र सम्पत्ति कर महानगरबाट सङ्कलन गर्ने उल्लेख छ । करदाताको सङ्ख्याको अध्ययन गर्नेसमेत निर्णय भएको छ । जसमा साना, मझौला र ठूला कुन प्रकृतिका करदाता थपिए यसको तथ्याङ्क निकालिने छ । कर भुक्तानी प्रणालीलाई डिजिटलाइज गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

तेस्रो निर्णय अन्तर्गत महानगरमा गाभिएका चक्रपथ बाहिरका वडाको फोहोर व्यवस्थापन गर्ने रहेको छ । जसका लागि ‘क्लोज टाइप’को ट्रक खरिद गर्ने निर्णय भएको छ । जसले हाल फोहोर सङ्कलन गर्न प्रयोगमा रहेको ट्रकको दुई गुणा बढी फोहोर सकलन गर्न सक्दछ । दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने गरी भएका निर्णय क्रमश कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत अर्याल बताउनुहुन्छ । 

ललितपुर महानगरमा पहिलो निर्वाचनमा गरेका निर्णय धेरै कार्यान्वयन भएको उहाँको दाबी छ ।  ‘दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनपछिको पहिलो नगर कार्यपालिकाको बैठकले गरेका तीन वटै निर्णय कार्यान्वयन योग्य छन् । यी निर्णहरुको कार्यान्वयन हुन्छ,’ अर्यालले भन्नुभयो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनकोे पदभार ग्रहणपछि महानगरभित्रको खाल्डाखुल्डी पुर्ने पहिलो निर्णय भएको तत्कालीन महानगरका प्रवक्ता राजु महर्जन सम्झनुहुन्छ । उक्त निर्णय तत्काल कार्यान्वयन भएको उहाँको दाबी छ ।  ‘२०७४ सालको निर्वाचनको पदभार ग्रहणपछि नगरबासीलाई धन्यवाद ज्ञापनसहित नगरभित्रका सडकमा परेका खाल्डाखुल्डी पुर्ने निर्णय भएको थियो । उक्त निर्णय तत्काल नै कार्यान्वयन भएको थियो,’ उहाँले भन्नुभयो । 

काठमाडौं महानगरमा निर्णय कार्यान्वयनको अवस्था 

 २०७४ सालको स्थानीय तहको निर्वाचनपछि बसेको काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले महिलाको हकमा ७५ वर्ष र पुरुषको हकमा  ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई विशेष सम्मान गर्ने निर्णय गरेको थियो । महानगरका तत्कालीन प्रवक्ता ईश्वरमानसिंह डंगोल अनुभव धेरै नभएकाले पहिलो निर्णमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने निर्णयमात्र भएको उल्लेख गर्नुहुन्छ । ‘पहिलो निर्णयको क्रममा हामीसँग कार्यक्रम के गर्ने भन्ने खासै अनुभव थिएन । त्यसकारण ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम मात्र राख्यौँ,’ उहाँले भन्नुभयो, ‘जुन सफलतापूर्वक नै सम्पन्न भएको थियो ।’

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि बसेको काठमाडौं महानगरको पहिलो नगर कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापन गर्ने, सार्वजनिक शौचालयका लागि रेष्टुरेन्ट र पेट्रोलपम्पसँग सहकार्य गर्ने निर्णय गरेको छ । सँगै महानगरको गुनासो सम्बोधन गर्न सात दिनभित्र कल सेन्टर स्थापना गर्ने र सोहीमार्फत हप्ताको दुई पटक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ ।

निर्णय कार्यान्वयनमा प्रमुख र उपप्रमुखको दौडधुप 

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल निर्णय कार्यान्वयनमा सक्रिय देखिनुभएको छ । काठमाडौंका प्रमुख  शाह फोहोर व्यवस्थापनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगै प्रतिपक्षी दलका नेतासम्मलाई भेट्न पुगिसक्नुभएको छ । प्रमुख शाहकै पहलमा नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन हुन नसकेपछि बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको प्रक्रिया सुरु भइसकेको छ । 

सार्वजनिक शौचालयका लागि रेष्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय भने कार्यान्वन प्रक्रियामा छ । महानगरभित्रका विभिन्न होटेल तथा रेष्टुरेन्टसँग समन्वय गरेर सार्वजनिक शौचालयको व्यवस्थापनको काम सुरु भइसकेको हो । गुनासो सम्बोधन गर्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णयसमेत कार्यान्वयनमा आएको छ । महानगरले गुनासो सुन्नका लागि सुरु गरेको कल सेन्टरमा हालसम्म  दुई हजार सात सय बढी कल आएको महानगका सहप्रवक्ता महेशकुमार काफ्लेले जानकारी दिनुभयो । 

कल सेन्टरमा सबैभन्दा बढी गुनासा फोहोर व्यवस्थापनका नै रहेको उहाँको भनाइ छ यस्तै इन्फ्राइस्टक्चर एम्बुलेन्स पनि सञ्चालनमा आएको सहप्रवक्ता काफ्लेको भनाइ छ । यसले सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुरेर हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उहाँको भनाइ छ । 

महानगरका वडा २९ का वडाध्यक्ष कुश ढकाल पहिलो बैठकका निर्णय केही चुनौतीपूर्ण भए पनि कार्यान्वयन योग्य रहेको बताउनुहुन्छ । ‘पहिलो चरणको भन्दा यस पटकको पहिलो बैठकका केही निर्णय चुनौतीपूर्ण छन् । तर कार्यान्वयन हुन्छ,’ उहाँले भन्नुभयो, ‘फोहोर व्यवस्थापन बाहेकका निर्णको कार्यान्वयन केही हुन्छ भने फोहोरको दुई महिनाभित्र व्यवस्थापन हुन्छ । ’ 

महानगरको फोहोर उठाउने सिस्टममा नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । अब महानगरमा हप्तामा तीन दिनमा फोहोर सङ्कलन गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो । जसअनुसार एक दिन कुहिने, एक दिन कागज र एक दिन सिसाजन्य फाेहोर सङ्कलन हुने उहाँको भनाइ छ ।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।