• २८ असार २०८२, शनिबार

सभापति देउवाद्वारा घलेको निधनप्रति दुःख व्यक्त

blog

स्वर्गीय राज घले

काठमाडौँ, असार २६ गते । नेपाली कांग्रेसले पार्टीका मनाङका संस्थापक सदस्य राज घलेको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको असार २६ गते निधन भएको जानकारी नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको छ । 

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

सभापति देउवाले स्वर्गीय घलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

घले नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका पूर्व उपसभापति, जिल्ला विकास समितिका पूर्व उपसभापति एवम् नेपाली कांग्रेस मनाङका संस्थापक सदस्य हुनुहुन्थ्यो । नेता राज घलेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्व गुमाएको उल्लेख गरेको छ । 

उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको चार तारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । घलेको पार्थिव शरीरलाई शुक्रबार काठमाडौंको शोभा भगवतीस्थित विजयेश्वरीमा अन्त्येष्टि गरिएको छ ।