• ३१ जेठ २०८१, बिहिबार

मार्मिक डोट्याली आख्यान

blog

कुनै पनि कृतिका लागि प्राञ्जल भाषा आकर्षक स्वागतद्वार हो जहाँबाट भित्र छिर्न पाठक सहजै आकर्षित हुन्छ । डोट्याली युवा लेखक लोकराज भट्टको उपन्यास ‘छाइल’को सबैभन्दा उल्लेख्य पक्ष यसको वर्णन आकर्षक, भाषा स्तरीय र अभिव्यक्ति कौशल उच्च हुनु हो । संवादमा डोट्याली भाषाको चोखो स्वाद छ तर वर्णनमा यी शब्द प्रयोग नगरेर उहाँले पाठकको मनोविज्ञानप्रति न्याय गर्नुभएको छ । शब्दको अर्थपूर्ण प्रयोगले राजधानीतिर नसुनिने डोट्याली शब्दहरू पनि अपरिचित लाग्दैनन् । शब्द चित्रणमा उहाँले सुदूरपश्चिमेली परिवेशलाई राम्ररी पक्रनुभएको छ । लोकार्पण कार्यक्रममा मानव अधिकारकर्मी मोहना अन्सारीले भन्नुभएजस्तै यो उपन्यास पढ्न थालेपछि युवा पाठक रातभरि अनिँदो बसेर पनि सकाएरै छाड्न लालायित हुन्छन् । 

बुक्स हिमालयद्वारा प्रकाशित उपन्यासमा डोटीका एक भावुक, कवि हृदयको युवा जितुराज शर्माको स्मृतिमूलक कथा छ । भाषा, शैली र प्रस्तुतिलाई लेखकले कतिसम्म हार्दिक बनाउनु भएको छ भने यहाँ प्रस्तुत सन्दर्भहरू पाठकलाई आफ्नै भोगाइजस्ता लाग्छन् । हरेकजसो घटनापछि त्यससँग सम्बन्धित पात्रमा आउने मनोवैज्ञानिक प्रभावको वर्णन लोभलाग्दो छ । बालसुलभ व्यवहार, बदमासी, भावुकता, प्रेम प्रसङ्गहरू मर्मस्पर्शी छन् । जितुराज सबैभन्दा बढी आफ्ना पिताप्रति भावुक देखिन्छ । आमा उसको चर्चामा उति धेरै पर्दिनन् तर पाठकले भने दिदी रूपासँग उसको सम्बन्धलाई प्रेम गर्न सक्छन् । दिदी पढ्नमा अब्बल छे, भाइ बदमासीमा ओस्ताद । जितु सानै हुँदा एकपल्ट आफू खलासी बन्न चाहेको कुरा गर्छ । त्यसपछि दिदी सधैँजसो उसलाई 

‘खलासी’ भनेरै बोलाउँछे । जितु र उसका साथीहरूले बेलुन भनेर कन्डम फुकेर उडाएको अनि त्यो देखेर रूपाले उनीहरूलाई खै गरेको, स्वास्थ्य चौकीमा ‘चाहेजति लैजानुस्’ भनेर लेखेको बाकसमा के छ भनेर भाइले सोध्दा दिदीले जवाफ टारेका जस्ता प्रसङ्गहरू बाल्यकालमा धेरैले अनुभूत गरेका यथार्थ हुन् । ‘बिहेपछि छोरीमान्छेको जिन्दगी आफ्नो रहँदैन’ भनेझैँ बिहे भएर रूपा धनगढी गएपछि उपन्यासमा उसको भूमिका एक्कासि सकिन्छ ।

सुदूरपश्चिमका मूल समस्या गरिबी, जातिभेद, वर्गभेद र छाउपडी हुन् । यहाँ तीमाथि एकसरो दृष्टिपात छ । सङ्घर्षका केही झिल्का पनि छन् । माओवादी द्वन्द्वको चर्चा पनि एउटा पाटोका रूपमा आएको छ तर उपन्यास तिनको गहिराइमा डुबुल्की मार्दैन । मूलतः यो बालसुलभ उन्मुक्ति, ठट्टेउलोपन, बदमासी, कोमल संवेदना र प्रेममा केन्द्रित छ । यसले के सङ्केत गर्छ भने उपन्यासकार आफ्ना पाठकलाई समाजका डरलाग्दा र मुटु थर्थराउने ज्वलन्त समस्यातिर डुबाउन चाहनु हुन्न । युवा पाठकको मनोविज्ञान र नाडी समाउँदै उहाँ लोकप्रियतामुखी बाटो समाउनु हुन्छ । यहाँ प्रेमको मृगतृष्णाका मार्मिक प्रसङ्गहरू छन् । बिछोड र अवरोधका कथाहरू पनि छन् ।

जितुराज बालककालमा उर्मीसित आकर्षित हुन्छ । उसको प्रेमपत्र उर्मीले सरलाई देखाइदिएपछि ऊ सजायको भागीदार हुन्छ । कक्षा ८ पढ्दा उर्मीका तर्फबाट सुखद सङ्केत मिल्छ तर एक्कासि ऊ जितुराजको जीवनबाट गायब भइदिन्छे । दिपायलमा दस जोड पढ्न बस्दा उसको सम्बन्ध सुमित्रासँग गाढा हुन्छ जो पछि प्रेममा परिणत हुन्छ । यस क्रममा पिपल्लाबजार, झोलुङ्गे पुल, दिल्पेश्वर, सेतीबगर आदिको रोचक वर्णन उपन्यासमा पाइन्छ । सेती बगरमा नुहाएका, लुगा धोएका, प्रेम गरेका आत्मीयताका अनेक प्रसङ्ग भुल्दै एक दिन सुमित्रा जितुराजको प्रेमलाई बिनाकारण क्रूरतापूर्वक लत्याएर धनगढी जान्छे । धनगढी क्याम्पस पढ्दा फेरि उनीहरूको भेट हुन्छ । त्यहाँ सुमित्राले जितुराजलाई गरेको बेवास्ता उत्तिकै दुःखलाग्दो छ । अन्ततः ऊ अरूसँगै बिहे गर्छे । त्यहीँ फेरि उसको मनको तार मीना कार्कीसँग जोडिन्छ । मीनासँग प्रेम प्रसङ्गको वर्णन पनि उपन्यासकारले उत्तिकै रोचक बनाएका छन् । काठमाडौँमा स्नात्तकोत्तर सकाएपछि मीनासँग भएको पुनर्मिलन बिछोडको श्रीगणेश मात्र हुन्छ । चाँडै नै त्यो प्रेमको पनि विधिवत अन्त्य हुन्छ । स्नातकोत्तर पढ्दै गर्दा श्रीमान् साथमा नभएकी रचना ऊसँग नजिकिनु चाहिँ स्वाभाविक रूपले जैविक अनुराग मात्र हो ।

गरिबी, बेरोजगारी र उदासीले जितुराजको प्रेमका अध्यायहरूको अवसान गराएको हो वा प्रेमको अवसानले जिन्दगीलाई उदासीमा धकेलेको हो भन्ने कुरामा पाठक मिठो वेदनामा भुलेर गम्न बाध्य हुन्छ । अव्यवस्थाको रातो खिया लागेको हाम्रोजस्तो देशमा कर्ण शाक्यहरूले भनेजस्तो सकारात्मक सोचले मात्रै जिन्दगी त्यति सहज बन्दैन जति सजिलै यस्तो कुरा भनिन्छ । अन्यायको गर्तमा अलमलिएको दुनियाँ बदल्न केही उथलपुथल चाहिन्छ भन्ने मिहिन सङ्केत उपन्यासमा छ ।

अन्तरदृष्टियुक्त निरीक्षणले ल्याउन सकिने निष्पक्षता भने उपन्यासमा माओवादी द्वन्द्वकालको चित्रणमा भेटिँदैन । माओवादी लडाकुको छवि तुलनात्मक रूपले बढी नै पीडक देखाइएको छ । लेखक भट्ट स्वयंले यही भोगेका हुन पनि सक्छ । माओवादी द्वन्द्वकालले जातीय उत्पीडन कम गर्न, दलित, उत्पीडित र तल्लो वर्गका व्यक्तिको मनोबल उँचो पार्न एवं अन्धविश्वासविरुद्ध चेतना जगाउन महìवपूर्ण भूमिका खेलेको थियो । तत्कालीन समयमा माओवादीभित्रका दलित–गैरदलितबीच विवाहको लहर स्वयं यसको एउटा प्रमाण हो । द्वन्द्व सकिएलगत्तै यस्ता बिहे खासगरी ‘उच्च जाति’को पुरुष र दलित महिलाको वैवाहिक सम्बन्ध असफल हुन थालेको हो । अपवादलाई सामान्य प्रवृत्ति ठान्ने दृष्टिले यस्तो समस्या आउँछ । 

यही समस्या प्रेमको चित्रणमा पनि देखिन्छ । यहाँ मूलतः दुई प्रेमिका बिनाकारण, बिनातर्क नायकसँग सम्बन्ध अन्त्य गर्छन् । यथार्थ के हो भने ग्रन्थीका हिसाबले पुरुष महिलासँगको सम्बन्धमा ह्वासलाङ्गे, परिणाम नसोची प्रेम र यौन संसर्ग राख्न हतार गर्ने खालको हुन्छ । आफूसँग भएको करोडौँ शुक्रकिटलाई व्यापक बनाउने मनोग्रन्थीले उसलाई यस्तो बनाइरहेको हुन्छ । चेतनाले मात्र त्यसलाई आत्मअनुशासित बनाउने हो । प्रेम र यौनको चाहना उत्तिकै प्रबल भए पनि योग्य बीजलाई मात्र उमार्ने माटोजस्तै स्त्रीहरू सुषुप्त बस्ने, सुरक्षा, उत्कृष्टता र दिगोपन खोज्ने स्वभावका हुन्छन् । यसकारण सम्बन्धमा हतार नगर्ने र सम्बन्ध रहेपछि त्यसलाई टिकाइराख्न स्त्रीले नै भूमिका खेलिरहेका हुन्छन् । अपवादमा त जे पनि हुन्छ, स्त्री प्रकृति नै नभएका स्त्रीहरू पनि हुन्छन् । सुमित्रा र मीना अपवादका पात्र हुन् तर कलाकृतिमा चित्रित पात्रलाई पाठकले अपवाद होइन, प्रतिनिधिका रूपमा चिन्छ । यही समाजशास्त्रीय चित्रणमा उपन्यास अलमलमा परेको छ ।

तथापि यी प्रसङ्गले सुदूरपश्चिमको पहिचान दिने उपन्यासको आभालाई घाटा पार्दैनन् । यो सुदूरपश्चिमेली समाज र परिवेशको पहिचान दिने मौलिक चित्रणयुक्त पठनीय उपन्यास हो । यसले डोट्याली समाज र सुदूरपश्चिमसँग पाठकलाई जीवन्त साक्षात्कार गराउँछ ।