• २३ असार २०८१, आइतबार

राजी समुदायका तीन जनप्रतिनिधि

blog

कैलालीको भजनीस्थित भुरुवामा रहेको राजी बस्ती । तस्बिर :अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, असार ४ गते । लोपोन्मुख राजी समुदायबाट कैलालीको स्थानीय तहमा तीन जनाको प्रतिनिधित्व भएको छ । दुई जना वडा सदस्य र एक जना कार्यपालिका सदस्य गरेर भजनी नगरपालिकामा लोपोन्मुख राजी समुदायका तीन जनाको प्रतिनिधित्व भएको हो ।  वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा नम्बर ५ मा नेकपा (एमाले)बाट खड्कबहादुर राजी वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी सोही पार्टीबाटै वडा नम्बर ९ को वडा सदस्यमा मीनबहादुर राजी विजयी हुनुभएको थियो । 

यस्तै कार्यपालिका सदस्यमा रामदेव राजी निर्वाचित हुनुभएको छ । कार्यपालिका गठनका लागि नागरिक उन्मुक्ति पार्टी र नेकपा (एमाले)बीच गठबन्धन भएको थियो । कार्यपालिका गठनका लागि गठबन्धन भएपछि लोपोन्मुख अल्पसङ्ख्यकको तर्फबाट नेकपा (एमाले)ले नै राजीलाई कार्यपालिका सदस्यका लागि पठाएको हो । भजनी नगरपालिकामा राजी समुदायको बसोबास अरू पालिकाको भन्दा बढी रहेको छ । यो पालिकाको भुरुवा गाउँमा सबैभन्दा बढी राजी परिवार बस्दै आएका छन् । पालिकामा बस्दै आएका राजी समुदायबाट तीन जना व्यक्ति जनप्रतिनिधिका रूपमा निर्वाचित भएका भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताउनुभयो ।  भजनीसहित टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि राजी समुदायको बसोबास छ । तर, दुई पालिकामा थोरै रहेका यो समुदायका व्यक्तिको सम्बन्धित पालिकामा प्रतिनिधित्व हुन सकेन । 

लोपोन्मुख राजी समुदाय गुजाराका लागि वन र नदीनालामा आश्रित छन् । वन चहार्दै मौरीको मह सङ्लकन गर्ने र गाउँघरमा बिक्री गर्ने यो समुदायको परम्परागत पेसा हो । यसैगरी नदीनालामा माछा मारेर पनि गुजारा चलाउने गरेका छन् ।  यस्तै कैलालीमा सीमान्तकृत, अल्पसङ्ख्यक समुदायका केही व्यक्तिको पनि स्थानीय सरकारमा प्रतिनिधित्व भएको छ । जानकी गाउँपालिकाको कार्यपालिका सदस्यमा नरबहादुर कुमाल र कैलारी गाउँपालिकाको कार्यपालिका सदस्यमा मनिराम कुमाल निर्वाचित हुनुभएको छ ।  कुमाल जातिका मानिस माटाका भाँडा बनाएर जीवनयापन गर्दै आएका छन् ।  यसैगरी भजनी नगरपालिकाको दलित महिला वडा सदस्यमा नेपाली कांग्रेसबाट मायादेवी धोबी निर्वाचित हुनुभएको छ ।