• २० असार २०८१, बिहिबार

मुना मासिकका सम्पादक भट्टराईको बिदाइ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३ गते । गोरखापत्र संस्थानको मासिक प्रकाशन मुना मासिकका सम्पादक हरिप्रसाद भट्टराईलाई संस्थान व्यवस्थापनले शुक्रबार सम्मानसहित बिदाइ गरेको छ । सम्पादक भट्टराई ५८ वर्ष उमेरहदका कारण संस्थान सेवाबाट बिदा हुनुभएको हो । 

संस्थानमा आयोजित बिदाइ कार्यक्रममा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले सम्पादक भट्टराईलाई सम्मानपत्रले सम्मानित गर्नुभयो । उहाँहरूले भट्टराईको भावी जीवन सुखमय, ऊर्जाशील, प्रेरणादायी र रचनात्मक रहोस् भनी शुभकामना दिनुभयो । 

अध्यक्ष सुवेदीले संस्थानले बिदाइमा देखाएको सद्भाव र सम्मानसहितको बिदाइ सम्पादक भट्टराईका लागि सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभयो । उहाँले कार्यक्षेत्रमा रहँदा भट्टराईले निर्भीक भएर आफ्ना विचार राख्नेगरेको अनुभव सुनाउनुभयो । यसैगरी, महाप्रबन्धक ऐरीले काम गर्नुपर्छ भन्ने उत्साह भट्टराईमा रहेको र संस्थानमा रहँदा उहाँले दिनुभएको योगदान महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।  

भट्टराईले सेवानिवृत्त आफ्नो बाँकी जीवन सामाजिक कार्यमा बिताउने बताउनुभयो । वि.सं. २०५३ माघमा सहायक सम्पादक पदमा नेपाली पत्रकारिता सेवामा प्रवेश गर्नुभएका भट्टराई नायब कार्यकारी सम्पादक पदमा रहँदा बिदाइ हुनुभएको हो । 


कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलिया, प्रशासन विभागका निर्देशक ओमप्रकाश भुसाललगायतका प्रकाशन तथा विभागका प्रमुख र शाखा प्रमुखहरूको उपस्थिति थियो ।