विजयकुमार साह
ढल्केबर, असार १८ गते। धनुषाको सबैला नगरपालिकाले उत्कृष्ट १० जना करदातालाई सम्मान गरेको छ। बुधबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नियमित रूपमा सर्वाधिक कर तिर्ने १० जना करदातालाई सम्मान गरेको हो।
सबैला नगरपालिकाका राजस्व शाखा प्रमुख सञ्जीव राउतले मधेश प्रदेशमा स्थानीय तहबाट उत्कृष्ट करदातालाई सम्मान गरिएको यो पहिलो भएको दाबी गर्नुभयो।
कार्यक्रममा करदातालाई सम्मान तथा कदरपत्र प्रदान गर्दै नगर प्रमुख कारीराम यादवले करदाताले आफ्नो दायित्वबोधसाथ कर तिरेर नगरको विकासमा योगदान दिइरहेकोमा आभार प्रकट गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहको समृद्धिको आधार भनेको आफ्नै स्रोत हो। त्यसैले कर तिर्ने संस्कृतिको विकास हुनुपर्छ। उहाँले आगामी दिनमा अझ बढी करदातालाई सम्मान गर्दै स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र करको सदुपयोग सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
सम्मानित १० जना करदातामध्ये सेवा, व्यवसाय तथा अन्य क्षेत्रका प्रतिनिधित्व हुने गरी छनोट गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख, वडाध्यक्ष, विभिन्न शाखा प्रमुख, करदाता र स्थानीय व्यवसायीको उपस्थिति रहेको थियो।