• १९ असार २०८२, बिहिबार

सुरक्षाकर्मीको सेवा-सुविधामा वृद्धि गर्न सकिएन : रक्षामन्त्री राई

blog

रक्षामन्त्री मानवीर राई ।

काठमाडाैं, असार १८ गते । रक्षामन्त्री मानवीर राईले सुरक्षाकर्मीहरूको सेवा-सुविधा न्यून रहेको स्वीकार गर्दै आगामी दिनमा राज्यको आर्थिक अवस्था मजबुत हुँदै गएपछि वृद्धि गर्ने कुरामा सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री राईले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा–सुविधा अपेक्षाकृत कम रहे पनि मुलुकको कमजोर आर्थिक अवस्थाका कारण वृद्धि गर्न नसकेको बताउनुभएको हो । 

उहाँले मुलुकको अर्थतन्त्रले विस्तारै लय समात्दै गएको उल्लेख गर्दै अगामी दिनमा सुरक्षाकर्मीको सेवा सुविधामा वृद्धि हुने विश्वास दिलाउनुभयो । उहाँले मुलुकको उत्पादन क्षेत्रको अवस्था हेरेर भविष्यमा नेपाली सेनालाई थप जिम्मेवारी दिने कुरामा पनि सरकार गम्भीर रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, "आगामी दिनमा उत्पादन क्षेत्रको अवस्था हेरेर नेपाली सेनालाई जिम्मेवारी दिएर अगाडि बढाउन सकिन्छ । नेपाली सेनालगायत सुरक्षाकर्मीको सेवा सुविधा अलि कम भयो भन्ने कुरा पनि उठाउनुभएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सेवा सुविधा कम र निजामती कर्मचारीहरुको, शिक्षकहरुको सेवा सुविधा कम भएको छ भन्ने मलाई पनि लागेको छ । तर मुलुकको एउटै समस्या के हो भने हामी अर्थतन्त्रमा जति माथि आउनुपर्ने हो त्यति आइरहेका छैनौँ । अहिले केही लयहरु समात्न थालेको कुराहरु अर्थमन्त्रीज्यूबाट स्पष्ट भएको छ । आगामी दिनमा यो सेवा सुविधालाई राज्य बलियो हुँदै जाँदा बढाउने कुरामा रक्षा मन्त्रालय र म सकारात्मक छु ।" 

उहाँले नेपाली सेनाले निर्माण गरिरहेका पूर्वाधार योजनाहरु समेत अन्तिम चरण रहेको उल्लेख गर्नुभयो ।