• ७ जेठ २०८१, सोमबार

माओवादीका नेता क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ३ गते । सांसद एकवाल मियाले बारा जिल्लामा नेकपा (माओवादी)का चित्रबहादुर क्षेत्रीको हत्याको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद मियाले घटना हेर्दा व्यक्तिगत रिसिइवीका कारण भएको जस्तो देखिएको हुनाले सत्य पत्ता लगाई ३८ वर्षीय क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग गर्नुभएको हो ।

निजको हत्या घरभन्दा ५०/१०० मिटरमा मात्र भए पनि हत्या गरेर परिवारलाई जानकारी नगराई अस्पतालमा लगेर मृत घोषणा गरिएकोप्रति थप शङ्का उत्पन्न भएको र हत्यामा संलग्नको आशङ्कामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी गराउनुभयो ।

त्यस्तै, सांसद प्रेम सुवालले भक्तपुरका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएर दोस्रो र तेस्रो किस्ता नदिएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल उपलब्ध गराउन माग गर्नुभयो ।
उहाँले हनुमन्ते खोलाको दायाँबायाँका डुबान पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।

यसैगरी, सांसद कृष्णभक्त पोखरेलले महिलाविरुद्ध हुने हिंसाका विषयमा संविधान र कानुनमा व्यवस्था गरे पनि यौनहिंसाका घटना बढ्दै गएकोप्रति सरकारकोे ध्यानाकर्षण गराउनुभयो ।