रलिङ समाचारदाता
रलिङ (हुम्ला), असार १५ गते । हुम्लाको चङ्खेली गाउँपालिका–४ स्थित लोतीखोला नदीमा निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । खोलामा निर्माणाधीन बेलिब्रिजको जडान कार्य ८० प्रतिशत सम्पन्न भएको छ ।
हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा पर्ने चङ्खेली गाउँपालिकामा रहेको बेलिब्रिज निर्माणपछि मुगुको राराताल र कैलाश मानसरोवरको यात्रा सहज हुने भएको छ । लामो समय तुइनका भरमा जोखिम यात्रा गर्ने बाध्यताबाट अब छिट्टै छुटकारा पाइने छ ।
सबै स्टिल पार्ट जडानको कार्य धमाधम भइरहेकाले बेलिब्रिज केही दिनभित्रै सञ्चालनमा आउने छ । यससँगै रारा–चङ्खेली हिमाल हुँदै हुम्लाको लाप्चाबाट मानसरोवर जाने पर्यटकको गन्तव्य छोटिने छ । जसका कारण कर्णाली प्रदेशको भौगोलिक जटिलता हटाउँदै आर्थिक विकासको गति थपिने अपेक्षा गरिएको छ ।
त्यति मात्र नभई दुर्गम चङ्खेलीका स्थानीयलाई समेत गाउँपालिका केन्द्र आउन व्यापार, स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामा पहुँचका लागि अब तुइन तर्ने बाध्यता सधैँका लागि अन्त्य हुने छ । बेलिब्रिज बनिरहेको खोलामा झोलुङ्गे पुलसमेत नहुँदा तुइनको भरमा ज्यान जोखिम राखेर नदी तर्नुपर्ने बाध्यता छ । अहिले पनि सो स्थानमा तुइन सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो ।
निर्माण भइरहेको मेटरी प्यानल ब्रिज सञ्चालनमा आएपछि चङ्खेली गाउँपालिकाका सबै वडा राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिने भएका छन् । सो स्थानमा पुल नभएकै कारण गाउँपालिका केन्द्रबाट वडा नं. १, २ र ३ जान लामो बाटो प्रयोग गर्नुका साथै तुइनको भरमा नदी वारपार गर्नुपर्ने बाध्यता छ । यतिबेला पुल निर्माणको चरण ८० प्रतिशत काम सम्पन्न भइसकेकाले अब सहज रूपमा यात्रा गर्न पाउने अध्यक्ष शाहीले बताउनुभयो ।