• ७ वैशाख २०८१, शुक्रबार

रेबिजको लक्षण देखिएका शत प्रतिशतको मृत्यु : खोप अनिवार्य लगाउन चिकित्सकको सुझाव

blog

काठमाडौं, असार ३ गते । दुई महिना अगाडि काठमाडौंका २७ वर्षीय पुरुष टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज भएर भर्ना हुनुभयो । अस्पतालमा भर्ना भएको चार दिनपछि उहाँको मृत्युभयो । शिक्षण पेशामा आवद्ध उहाँलाई एक महिना पहिला कुकुरले टोकेपछि अस्पताल भर्ना हुनुभएको परिवारले बताएको छ ।

पेशाले शिक्षक उहाँलाई एक महिना पहिले घरपालुवा कुकुरले टोकेको परिवारले अस्पताललाई जानकारी दिएका थिए । परिवारका अनुसार उहाँलाई टोकेको पाँच दिनमा कुकुर मरेको थियो । कुकुर मरे पनि लक्षण नदेखिँदा परिवारले उपचार गर्नुपर्छ भन्नेतर्फ सोचेनन् । एक महिनापछि उहाँलाई ज्वरो आउने, शरीर र डाढ दुख्ने, पानी, हावादेखि डर लाग्ने जस्ता लक्षण देखिन थालेपछि मात्र परिवारले अस्पतालमा पुर्याएका थिए । ‍

त्यसैगरी, दाङकी १५ वर्षीया बालिका फागुनमा कुकुरले टोकेको भन्दै अस्पतालमा भर्ना हुनुभएको थियो । रेविजको लक्षण देखिसकेकाले उहाँको अस्पतालमा भर्ना भएको दुई दिनमा मृत्युभयो । उहाँका परिवारले अस्पताललाई दिएको जानकारी अनुसार माघ महिनामा स्कुलबाट घर फर्कने क्रममा उहाँलाई कुकुरले टोकेको थियो । कुकुरले टोकेलगत्तै नजिकैको फार्मेसीमा लगेर टिटानास विरुद्धको खोप लगाइएको थियो । एक महिनापछि मात्र बालिकामा आक्रमक हुने, पानीसँग डराउने लक्षण देखिएपछि टेकु अस्पताल ल्याइएको थियो । अस्पताल भर्ना भएको दुई दिनमै उहाँको मृत्युभयो । 

माथिका प्रतिनिधि घटना हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फागुन, चैत, वैशाखमा रेविज लागेर ११ जनाको मृत्युभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । 

हरेक वर्ष विश्वमा रेबिजको कारणले लगभग ६० हजार मानिसको मृत्यु हुने गरेको छ । ३७ लाख मानिस रेबिजका कारण अशक्त हुने गरेको डब्लूएचओले जनाएको छ । 

रेबिज लागिसकेपछि उपचार नहुने तर समयमानै रेबिज विरुद्धको खोप लगाएर बच्न सकिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रेबिज लागिसकेपछि उपचार हुँदैन । शत प्रतिशतको मृत्युहुन्छ । तर, जनावरले टोकेका मानिसले बेलैमा रेविज विरुद्धको खोप लगाउए बाच्न सकिन्छ ।” नेपालमा रेबिजका बिरामी बढ्दो क्रममा रहेको र रेबिज लागेका मानिसको मृत्यु चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ । 

एक वर्षमा सय जनामा रेबिज

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार करीब ९९ प्रतिशत मानिसमा लाग्ने रेविज संक्रमित कुकुरको टोकाइबाट लाग्ने गर्छ । नेपालमा हरेक वर्ष एक सय जना नयाँ रेबिजका बिरामी देखिन्छन् । डब्लुएचओका अनुसार नेपालको लगभग आधा जनसंख्या रेबिजको उच्च जोखिममा छन् । एक चौथाई जनसंख्यामा मध्यम जोखिम देखिन्छ । हरेक वर्ष विश्वमा रेबिजको कारणले लगभग ६० हजार मानिसको मृत्यु हुने गरेको छ । ३७ लाख मानिस रेबिजका कारण अशक्त हुने गरेको डब्लूएचओले जनाएको छ । 

मृत्यु र अशक्त हुनेमध्ये ४५ प्रतिशत एसियाली मुलुकका रहेका छन् । रेबिजबाट बढी बालबालिकाका प्रभावित हुने गरेका छन् । डब्लूएचओका अनुसार रेबिज लागेका मध्ये ४० देखि १५ वर्ष मुनिका बालबालिका हुने गरेका छ । स्वास्थ्य सेवा विभागले निकालेको वर्षिक प्रतिवेदमा नेपालमा करीब आधा जति जनसंख्या रेबिजको उच्च र एक चौथाई जनसंख्या मध्यम जोखिममा छ । रेबिजको समस्या सबैभन्दा बढी तराइमा, पहाडी जिल्लामा मध्यम र हिमाल क्षेत्रमा रेबिजको कम जोखिम रहेको उल्लेख छ । 

के हो रेबिज ?

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले रेबिज भाइरसको कारणले रेबिज रोग लाग्ने बताउनुहुन्छ । रेबिज भएका भएका कुकुर, स्याल, लगायतका जङ्गली जनावरको टोकाइबाट लाग्छ । रेबिज रोग लागेको जनावरले टोकेको अवस्थामा र्यालको माध्यमबाट, घाउ, चोटपटक लागेको छालामा चाटेमा वा र्याल पर्न गएमा रेबिज सर्ने डा पुन बताउनुहुन्छ । 

लक्षण के हुन् ?

रेबिज भएका जनावारले टोकेमा वा रेबिज लागेको एकदेखि तीन महिनामा रेबिजका लक्षणहरु देखिने गर्दछन् । कुकुरले टोकेको सुरुवाती चरणमा लक्षण नदेखिने डा. पुन बताउनुहुन्छ ।  

चिकित्सकका अनुसार मानिस अनुसार लक्षण फरकफरक देखिने गर्दछन् ।  सुरुवाती चरणमा हल्का ज्वरो आउने, शरीर दुख्ने,  झमझमाउने गर्छ । डाढ दुख्ने, शरीरको तल्लो भाग दुख्ने, विस्तारै हावा र पानीसँग डर लाग्ने, छटपटी हुने, आक्रमक हुने जस्ता लक्षण देखिने गर्छ ।  कुनै-कुनै रेबिज लागेका बिरामी अस्पतालका सामान तोडफोड गर्ने, समाल्नै नसक्ने आक्रमक हुन्छन् । 

लक्षण देखिएको पाँच-छ दिनमा मानिसको मृत्युहुने डा. पुन बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “लक्षण देखिएपछि उपचार हुँदैन । सामान्यतय लक्षण देखिएको पाँच-छ दिनमा बिरामीको मृत्यु हुन्छ ।” 

खोप लगाउन सुझाव

चिकित्सकका अनुसार जनावरलाई छुदाँ अथवा खुवाउदा जनावरले घाउ नभएको छालामा चाट्दा रेविज विरुद्धको खोप लगाउनु पर्दैन । तर, कुकुर, बिरालोलगायत अन्य जङ्गली जनावरले टोक्ने बित्तिकै रेविजविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ । 

बालबालिकाले प्राय आमाबुवाले गाली गर्ने डरले नभन्ने गरेको चिकित्सकहरु बताउछन् । यस्तो अवस्थामा केही दिन ढिला गरी पत्ता लाग्यो भने खोप लगाउन चिकित्सकले सुझाव दिनुभएको छ । स्वास्थ्य संस्थामा निःशुल्क पाइने रेबिजविरुद्ध खोप लगाउन चिकित्सकको सुझाव छ। 

रेबिज हुनबाट बच्ने उपाय 

रेबिज हुनबाट बच्नका लागि चिकित्सकले विभिन्न सुझाव दिएका छन् । शङ्कास्पद कुकुर र जङ्गली जनावरले टोकेको घाउलाई १० देखि १५ मिनेट साबुनपानीले सफा गर्न डा. पुनको सुझाव छ । शंकास्पद जनावरले टोकेमा तुरुन्त रेबिजविरुद्ध खोप लगाउन उहाँको सुझाव छ । घर पालुवा कुकुरलाई वर्षमा एकपटक अनिवार्य रेविजविरुद्ध खोप लगाउनुपर्छ । नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झर्ने लक्ष्य लिएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।