• १३ असार २०८२, शुक्रबार

पाकिस्तानी दूतावासले दियो १९५ विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ति

blog

काठमाडौँ, असार १२ गते । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका १०२ विद्यालयका १९५ विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा ती विद्यार्थीलाई १३ औँ राजदूत वार्षिक छात्रवृत्ति प्रदान गरिएको उक्त दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अध्ययनमा निरन्तर राम्रो प्रदर्शन गरेकोमा एक प्रतिभाशाली विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको थियो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पाकिस्तानले विशेष गरी शिक्षाको क्षेत्रमा निरन्तर प्राविधिक सहयोग गरेकोमा प्रशंसा गर्नुभयो । यो पाकिस्तान र नेपालबिचको घनिष्ठ मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउँदै उहाँले यस्तो सहयोगले दुई देशका युवालाई साझा दृष्टिकोणबारे बुझाउन लामो दीर्घकालीन रूपमा काम गर्ने विश्वास गर्नुभयो । 

नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले पाकिस्तानले छात्रवृत्ति कार्यक्रम र नेपालका उच्च माध्यमिक तहका विद्यार्थीसहित शिक्षाका सबै तहमा सहयोग विस्तार गर्ने प्रयासलाई निरन्तरता दिने बताउनु भयो । उहाँले अध्ययन, खेलकुद र स्वास्थ्य सामाजिक गतिविधिका क्षेत्रमा नेपाली युवालाई प्रोत्साहन गर्नु द्विपक्षीय सहयोगको एक महत्त्वपूर्ण भाग भएको पनि बताउनु भयो । 

पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको जनाइएको छ ।