बागलुङ समाचारदाता
बागलुङ, भदौ १५ गते । जिल्लाको गलकोटका एक युवती गैरकानुनी रूपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटक भिसामा ओमान गएकी थिइन् । गैरकानुनी रूपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले धेरै दुःख पाइन् । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन त सकियो तर राहत, बिमा रकम र अन्य सेवा भने पाउन सकिनन् ।
बिनाश्रम स्वीकृति साउदी अरब पुगेका बागलुङ नगरपालिका–८, सिगानाका एक युवाको गत पुस २८ गते निधन भयो । बिरामी पर्दा साउदी अस्पतालमा उपचार गर्न श्रम स्वीकृति चाहियो । घरपरिवारले नेपालमै झिकाएर उपचार गराउन खोजे पनि प्रक्रिया झन्झटिलो हुँदा बिमारले थलिएका उनको कोठामै निधन भयो । परिवारकै खर्चमा उनको शव नेपाल ल्याउन तीन महिना लाग्यो । बिमा र पारिश्रमिक नभएपछि परिवार अहिले ठुलो आर्थिक सङ्कटमा छ । श्रम स्वीकृति लिएको भए उहाँले कम्तीमा २५ लाख रुपियाँ बिमा रकम र अन्य क्षतिपूर्ति पाउनुहुन्थ्यो । बागलुङ नगरपालिका–३ का अर्का युवाको गत वर्ष रोमानियामा निधन भयो । एउटा कम्पनी भनेर अर्कोमा काम गरेकाले ड्युटीमै निधन भएर पनि उनको शव ल्याउन चार महिना लाग्यो । श्रम सम्झौता गरेकाले बिमा रकम पाए पनि कम्पनी फरक परेकाले राहतस्वरूप पाउनुपर्ने २० लाख रुपियाँ पनि गुम्यो । राहत रकमका लागि पहल भने भइरहेको आप्रवासी स्रोतकेन्द्र (सामी) ले जनाएको छ ।
गत आर्थिक वर्ष मात्रै श्रम स्वीकृति नभएका, गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा गएकामध्ये २० जना विदेशमा बिरामी परेका थिए । उनीहरूले उपचार खर्च पाउन सकेनन् । केन्द्रको पहलमा १४ जनाको क्षतिपूर्ति र राहत रकम दिलाउन नसकेपछि बिमा रकम भने समयमै उपलब्ध गराउन सामीले जनाएको छ । छ जनाको अझै प्रक्रियामा रहेको छ भने परिवारले पाउनुपर्ने रकम नपाएपछि विदेशमा आफन्तको मृत्यु हुँदा नेपालमा बस्नेले ऋणको भारी बोक्नु परेको छ ।
गत वर्ष बागलुङबाट विदेश गएका १० जनाको विदेशमै मृत्यु भयो । उनीहरूको शव ल्याउन पहल भएको थियो । वैदेशिक रोजगारीमा जाने क्रममा ७८ युवा ठगिएका छन् । तीमध्ये २७ जनाको प्रमुख जिल्ला अधिकारीमार्फत केन्द्रले रकम असुलउपर गरेको छ । कतिपयको त प्रमाण नहुँदा अलपत्र छन् । गैरकानुनी आफन्तको पमा गएकै कारण तीन जना विदेशमै बेपत्ता छन् ।