• १० असार २०८२, मङ्गलबार

बाहिरबाट हुम्ला बसाइँ सर्ने क्रम बढ्दै

blog

जिल्लाबाहिरबाट बसाइँसराइ गरी हुम्ला आएपछि ताक्लाकोट जान जिल्ला प्रशासन कार्यालयमा लागेको भिड । तस्बिर : नन्द सिंह

नन्द सिंह

रलिङ (हुम्ला), असार १० गते । हुम्ला जिल्ला बाहिरका नागरिक चीनमा काम गर्नका लागि बसाइँसराइ गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । चीन सरकारले छिमेकी जिल्ला हुम्लाका बासिन्दालाई बाहेक अन्य नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न नदिएपछि जिल्लाबाहिरका नागरिक हुम्ला जिल्लामा बसाइँसराइ गर्ने क्रम वृद्धि भएको हो ।

हुम्लाका दूरदराजमा रहेका जग्गा आफ्नो नाममा गर्दै तिब्बतको ताक्लाकोटमा रोजगारी खोज्ने गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाको एक तथ्याङ्कले देखाएको छ । चीनको ताक्लाकोट जाने नाममा हुम्ला भित्रिने र बसोबास सुरु गर्नेको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखिएको छ । बझाङ, डोटी, दार्चुला, प्युठान, ओखलढुङ्गा, सिन्धुपाल्चोक, खोटाङ, सोलुखुम्बुलगायतका जिल्लाबाट सर्वसाधारण हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–१, हेप्का, वडा नं. ३ खगालगाउँ,  वडा नं. ५ मुचु र सिमकोट गाउँपालिका–१ को ठेहे, दोजाम, वडा नं. ८ को स्याडालगायतका ठाउँमा जग्गा किनेर बसोबास गर्न थालेका छन् ।

हालसम्म २५ जना जिल्लाबाहिरकाले गाउँघरमा जमिन खरिद गरी लालपुर्जासमेत लिएको मालपोत कार्यालय हुम्लाका प्रमुख प्रवेन्द्र यादवले बताउनुभयो । तीमध्ये केहीले नेपाली नागरिकतासमेत हुम्लाबाटै लिएर विवाह दर्ता गरी जिल्ला निर्वाचन कार्यालयमा मतदाता परिचयपत्रसमेत बनाएका छन् । १२ महिनाको अन्तरालमा २५ जना महिला मतदाता बाहिरका जिल्लाबाट आएर हुम्लाबाट मतदाता परिचयपत्र बनाएको निर्वाचन कार्यालय हुम्लाका सूचना अधिकारी जगदीश शाहीले बताउनुभयो ।

सीमा पासका लागि नागरिकता, जग्गाधनी प्रमाणपत्र र मतदाता परिचयपत्र अनिवार्य हुँदा धेरैले हुम्लाबाटै मतदाता परिचयपत्र बनाउने गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । यसरी सीमा पास लिई ताक्लाकोटमा होटेल तथा दोहोरी साँझ जस्ता कामका लागि जानेमा महिला तथा किशोरीको सङ्ख्या उल्लेख्य छ । 

बसाइँसराइले हुम्लाको सामाजिक संरचना, भोटाधिकार अभ्यास र सीमावर्ती सुरक्षालाई गहिरो असर पु¥याउने सङ्केत देखिएको छ । नेपाल–चीनबिचको द्विपक्षीय सम्झौता अनुसार सीमावर्ती क्षेत्रका नागरिकले बिनाराहदानी ३० किलोमिटरसम्म आउजाउ गर्न पाउने विशेष सुविधा पाएका छन् । सरकारद्वारा २०८१ सालमा जारी ‘चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र उपलब्ध गराउने कार्यविधि’ अनुसार हुम्लाका नागरिकलाई चीन प्रवेशमा सहजता दिइएको हो । 

स्थानीयलाई दिएको सहुलियतको प्रयोग दुरुपयोगमा परिणत हुन थालेको देखिएको छ । रोजगारीको नाममा जिल्ला बाहिरबाट आएकाहरू हुम्लामा नागरिकता लिई बसोबास गर्न थालेका छन् । त्यसपछि सीमा पास लिएर चीनको ताक्लाकोटतिर रोजगारीका लागि जाने क्रम बढ्दो छ ।