• १० असार २०८२, मङ्गलबार

जैमिनी नगरको बजेट ७५ करोड चार लाख

blog

बागलुङको जैमिनी नगरपालिकाको बजेट विनियोजन कार्यक्रममा सहभागीहरु । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), असार १० गते ।
बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७५ करोड चार लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले सोमबार सार्वजनिक गरेको बजेट वक्तव्य अनुसार बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाका लागि दुई करोड दुई लाख रुपियाँ, सामाजिक विकासमा पाँच करोड ४२ लाख रुपियाँ र लिड स्कुलका रुपमा नगर क्षेत्रै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न १० लाख रुपियाँ विनियोजन गर्नुभएको छ । उपप्रमुख शर्माले “जैमिनी स्वास्थ्य उपचार कोष”लाई प्रभावकारी बनाउन यस वर्ष २५ लाख रुपियाँ बजेट विनियोजन गर्नुभएको छ ।

नगरउपप्रमुख शर्माले र पूर्वाधार विकासमा आठ करोड ८२ लाख ४० हजार रुपियाँ, विपद् व्यवस्थापन क्षेत्रमा ६२ लाख ५० हजार रुपियाँ, सुशासन तथा संस्थागत विकासमा ३९ लाख रुपियाँ र अन्तरसम्बन्धित विषयहरुमा दुई करोड ८४ लाख ३० हजार रुपियाँ बजेट विनियोजन गर्नुभएको छ ।

जैमिनीले घरबार विहिनलाई घर र फूसका छाना विस्तापनका लागि सात लाख रुपियाँ, आवास विहीनलाई आवास निर्माणका लागि ३० लाख रुपियाँ, वडा नम्बर ३ दमेकको स्वास्थ्य चौकी भवन निर्माणको लागि ४० लाख रुपियाँ र किसान परिचयपत्र युक्त नमुना पालिका घोषणा गर्न आठ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

यस्तै ‘शेरा जाउँ केरा खाउँ’ केरा पकेट विकास कार्यक्रमलाई निरन्तरता दिएको जैमिनीले सुन्तलाजात फलफूल बालीको नयाँ पकेट विकास कार्यक्रमको लागि १२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

बाँदर बगैचा निर्माणका लागि ६ लाख रुपियाँ, स्थानीयस्तरमै फलफूल विरुवा उपलब्ध गराउन नर्सरी स्थापना कार्यक्रमका लागि आठ लाख रुपियाँ, रैथाने बाली उत्पादन र बजारीकरण गर्न सात लाख रुपियाँ र लघु उद्यम कार्यक्रमका लागि १४ लाख १६ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता र सुकुम्बासी मुक्त नगरपालिका घोषणा कार्यक्रम बजेट मार्फत सार्वजनिक भएका छन् ।