काठमाडौँ, असार ९ गते । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिनुभएको छ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले यस्तो जानकारी दिनुभएको हो । उहाँले उपत्यका बाहेक तराईका जिल्लामा द्रुतमार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको द्रुतमार्ग ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति रहेको छ । मन्त्री राईले बजेट अभावको कारण १८ वर्ष कटेका युवाहरूलाई नेपाली सेनाका लागि तयारी तालिम दिन नसकिएको समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौँ–तराई मधेश जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ । सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हामी पुग्ने छौँ । म के जानकारी गराउन चाहन्छु भने काठमाडौँ बाहिरको तराईका सबै क्षेत्रको जमिनहरू लिने काम सबै सकिएको छ । यसका सबै प्रक्रियाहरू समाप्त भएको छ । त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ ।’
जलविद्युतहरूको सुरक्षा पनि नेपाली सेनाले गर्ने भए पनि जलविद्युत् निर्माण गर्ने काम नगर्ने उहाँले बताउनुभयो । भविष्य नेपाल सरकारले निर्णय गरेको र आर्थिक रूपमा सबल भएको खण्डमा नेपाली सेनाले बम बनाउने योजना रहेको भए पनि तत्काल कुनै काम अगाडि नसारिएको स्पष्ट पार्नुभयो ।