तनहुँ समाचारदाता
तनहुँ, असार ८ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधानको विरोध गर्नेलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ व्यास नगर समितिको चौथो अधिवेशनको शनिबार उद्घाटन गर्दै भट्टराईले हालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभएको हो ।
वर्तमान संविधानले महिलालाई अधिकार दिएको उल्लेख गर्दै केन्द्रीय सदस्य भट्टराईले महिलालाई गाउँ तथा वडाको सभापति मात्रै होइन, देशको राष्ट्रपति र प्रधानमन्त्री बनाउने बाटो बनाउने संविधानले दिएको बताउनुभयो । महिलाको अधिकार स्थापित गर्न नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको भट्टराईको भनाइ थियो ।
नेपाली कांग्रेसको सबैभन्दा पुरानो भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ भएको स्मरण गर्दै उहाँले महिलालाई संविधानमा लेखेर अधिकार दिने पार्टी कांग्रेस भएको दाबी गर्नुभयो । सबैभन्दा पहिला द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाएर नेपाली कांग्रेसले महिलालाई सम्मान र अधिकार दिएको स्मरण भट्टराईले गर्नुभयो ।
कांग्रेसको २००७ सालमा हतियार व्यवस्थापन गर्नेदेखि घाइतेको उपचार गर्ने ठाउँसम्म महिलाबाट भएको स्मरण गर्दै नेपालको राजनीतिक परिवर्तनमा महिलाको ठुलो योगदान रहेको बताउनुभयो । २००७, २०४६ र २०६२/६३ सालको क्रान्तिले महिलाको अधिकारलाई बढाउँदै स्थापित गर्दै गएको भट्टराईको भनाइ छ ।
संविधानले हरेक वर्ग, तह र जातका महिलालाई अवसर दिएको छ भन्दै भट्टराईले भन्नुभयो, “हालको राष्ट्रपति प्रणालीले महिलाको अधिकार सुनिश्चित गरेको छ, महिलामैत्री संविधान संसारमा बिरलै छन् ।”
कार्यक्रममा कांग्रेसका निर्वतमान सभापति वैकुण्ठ न्यौपाने, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेपाल महिला सङ्घ तनहुँकी सभापति पवित्रा पौडेल, व्यास नगर सभापति इन्दिरा दरैलगायतले महिलाको अधिकार थप हुँदै गएको र महिलाको जनसङ्ख्याका आधारमा सोही अनुसारको पद र जिम्मेवारी बाँडफाँट गर्नुपर्नेमा जोड दिनुभएको थियो ।