• ७ असार २०८२, शनिबार

बढ्यो मनसुनी जोखिम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ७ गते । नेपालमा मनसुनी वर्षाको रेकर्ड बढ्दै जाँदा विभिन्न प्रकारका प्राकृतिक विपत्तिको जोखिम बढेको छ । शुक्रबारदेखि देशभर मनसुन विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म लुम्बिनीमा अड्किएको मनसुन रातभरमा देशभर फैलिएको हो । 

त्यसैले अबका दिनमा वर्षाको दर बढ्ने भएकाले त्योसँगै विपत्तिको सम्भावना पनि बढेको छ । केही दिन कहिले रोकिँदै र फेरि पर्दै देशका अधिकांश स्थानमा वर्षा निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपाल र छिमेकी देश चीनको सीमा क्षेत्रमा मनसुनले नियमित वर्षा गराइरहेकाले विपत्को जोखिम थप बढाएको छ । चीनको तिब्बत क्षेत्रमा वर्षा भइरहेको र त्यहाँबाट नेपाल आउने नदीमा बहाव उच्च हुने सम्भावना रहेकाले सतर्क रहन विभागले अनुरोध गरेको छ । छिमेकी चीनको तिब्बत क्षेत्रमा असार ३ गतेदेखि असार ७ गतेसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएकाले नेपालतर्फ पानीढलो रहेकाले भोटेकोशी र सुनकोशी नदीमा बाढी आउन सक्ने हुँदा ती नदी आसपासका गाउँबासीलाई सतर्क रहन भनिएको मौसमविद् डेबिड ढकालले बताउनुभयो । 

तिब्बतस्थित प्रहरी कार्यालयले पठाएको सूचना अनुसार भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकासहित दुई नदी आसपासका क्षेत्रमा बाढीपहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्क रहन भनिएको छ । महाशाखाका अनुसार विगत २४ घण्टामा देशका विभिन्न १२ स्थानमा दुई सय मिलिमिटरसम्मको वर्षा रेकर्ड भएको छ । पहाडी भूभागमा ५० मिलिमिटरमाथिको लगातार वर्षाले पनि बाढी र पहिरोको जोखिम निम्त्याउने भएकाले सतर्क रहनुपर्ने महाशाखाले जनाएको छ । 

यसैबिच बिहीबार रातिदेखि जारी वर्षाका कारण राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानका नदीमा शुक्रबार बाढी आएको छ ।

राजधानी काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका सडक जलमग्न बनेका छन् । बागमती, धोबीखोला र मनहरा खोलामा बाढी आएको छ । धोबीखोलाको बाढीले नदी आसपासका कोरिडोर डुबानमा पर्दा आवागमनमा अवरोध सिर्जना भएको सुरक्षा निकायले जनाएका छन् ।

त्यसै गरी चितवन, नवलपरासी, मकवानपुर, कास्कीलगायतका जिल्लाका ठुलासाना नदीमा पनि बहाव बढ्दा डाइभर्सन सडक अवरुद्ध हुन पुगेका छन् । बाढीपहिरोले देशका विभिन्न स्थानका प्रमुख तथा सहायक मार्ग अवरुद्ध हुन पुगेका थिए । जसका कारण सार्वजनिक तथा निजी आवागमन प्रभावित हुन पुगेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।