• ४ असार २०८२, बुधबार

आँखाको ज्योति फर्किदा ज्येष्ठ नागरिक खुसी

blog

मोतिबिन्दुको शल्यक्रिया गरिएको ज्येष्ठ नागरिक । तस्बिर : केशब राज भट्ट

केशब राज भट्ट
बैतडी (बाशुलिङ्ग), असार ४ गते ।
दुर्गम पहाडी जिल्ला बैतडीमा सञ्चालन गरिएको दुई दिने निःशुल्क आँखा शिविरबाट दृष्टि प्राप्त भएपछि ज्येष्ठ नागरिकको अनुहारमा खुसी छाएको छ ।

जिल्ला अस्पताल बैतडी, दशरथचन्द नगरपालिका र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको संयुक्त आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सोमबार र मङ्गलबार सञ्चालन भएको शिविरमा एक सय ४५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो ।

शिविरमा पाँच सय १६ जनाको आँखाको परीक्षण गरी आवश्यक औषधी निःशुल्क वितरण गरिएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र बिष्टले जानकारी दिनुभयो ।

शिविरमा सहभागी अधिकांश ज्येष्ठ नागरिकको आँखाको ज्योति फर्किएपछि आफ्नो अनुहारमा चमक आएको अनुभव सुनाएका छन् । ‘‘अब छोराछोरीको मुख हेर्न पाइने भयो,’’ बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया बमकला बोहराले बताउनुभयो ।

दुर्गम क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै आँखाको स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएका गेटा आँखा अस्पतालका नेत्र अधिकृत बिष्टले बताउनुभयो । आर्थिक तथा भौगोलिक कारणले उपचारबाट वञ्चित नागरिकलाई यस्ता शिविरले राहत मिलेको बैतडी अस्पतालका प्रमुख डा. सुशील विकको भनाइ छ । यसअघि गत जेठ ३० र ३१ गते डोटीको वायलमा सञ्चालन गरिएको यस्तै शिविरमा २ सय ७९ जनाको परीक्षण र एक सय ६ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।

नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालले हरेक वर्ष सुदूरपश्चिमका दुर्गम जिल्लामा यस्ता शिविर सञ्चालन गर्दै आएको छ । दृष्टि गुमाएका नागरिकलाई आफ्नै गाउँमै सेवा दिन पाउँदा अस्पतालका चिकित्सक र स्वयंसेवक समेत सन्तुष्ट देखिएका छन् ।