• २ असार २०८२, सोमबार

म्याग्दीमा दुई सय व्यवसायी पेशा छाडेर पलायन

blog

पर्यटन तथा उद्योग कार्यालय

अमृतप्रसाद पौडेल
म्याग्दी, असार २ गते ।
म्याग्दीमा पछिल्लो तीन आर्थिक वर्षमा आफ्नो पेशा व्यवसाय छाडेर झण्डै दुई सय व्यवसायी पलायन भएका छन् ।

पर्यटन तथा उद्योग कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा एक सय ९६ व्यवसायीले आफ्नो पेशा व्यवसायलाई औपचारीक रुपमा बन्द गरेरै पलायन भएका हुन् ।

कार्यालय प्रमुख अमृत प्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०७९/०८० मा उद्योग तर्फका १४ र वाणिज्य तर्फका २९ गरी ४३, आर्थिक वर्ष २०८०/०८१ मा उद्योग तर्फका ३१ र वाणिज्य तर्फका ५३ व्यवसाय गरी ८४ तथा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उद्योग तर्फ २२ र वाणिज्य तर्फ ३६ गरी ६९ व्यवसायहरु बन्द भएका हुन् ।

आफ्नो व्यवसाय बन्द भएपछि आवश्यक कागजातसहित सम्बन्धित व्यक्ति नै कार्यालयमा आएर व्यवसायीक फर्म खारेज गरेको कार्यालय प्रमुख कँडेलको भनाइ छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा एक हजार ३२ नयाँ व्यवसाय दर्ता भएका छन् । उद्योगतर्फ तीन सय ३४ र वाणिज्य तर्फ छ सय ९८ व्यवसाय दर्ता भएका हुन् । तीन वर्षको अवधिमा एक हजार नौ सय ६८ व्यवसायीले आफ्नो फर्म नवीकरण गरेका छन् ।

पर्यटन तथा उद्योग कार्यालयबाट पर्यटनसम्बन्धी ४९ योजनाहरु कार्यान्वयनमा गएका छन् । आर्थिक वर्ष २०७९/८० मा २१, गत आर्थिक वर्षमा १८ र चालु आर्थिक वर्षमा १० गरी उक्त परिणाममा योजनाहरु कार्यान्वयनमा गएका हुन् ।