काठमाडौँ, असार २ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।
शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामङ्गलमा उपचारका क्रममा ९० वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
शास्त्री नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक रहनुभएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने उल्लेख गरेको छ ।
प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शास्त्रीको पार्थिव शरीरलाई यही असार ४ गते बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ ।
कांग्रेसको राजनीतिमा जननायक विपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर उहाँले काम गर्नुभएको थियो ।
प्रजातन्त्र पुन: स्थापनाको सङ्घर्षका क्रममा भारतको बनारस र गोरखपुरमा उहाँले लामो समय प्रवासी जीवन बिताउनुभएको थियो । शास्त्री आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका क्रममा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँद्वारा लिखित ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ ।
नेपाल सरकारद्वारा स्थापित विपी कोइराला राष्ट्रिय पुरस्कार-२०७९ (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा उहाँ सम्मानित हुनुहुन्थ्यो ।
शास्त्री ‘सहिद स्मृति प्रतिष्ठान’ का संरक्षक तथा संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाइएको छ । रासस