• १३ असोज २०८१, आइतबार

कर छली ल्याएका सामानको प्रज्ञापनपत्र पनि नक्कली

blog

सचिन पोखरेल

इटहरी, असार १ गते । पूर्वी नाका काँकडभिट्टाबाट भन्सार राजस्व नतिरी नेपाल भित्रिएका तीनवटा भारतीय नम्बरका मालवाहक ट्रकमा ल्याइएको सामानको प्रज्ञापनपत्र नै रहेको पुष्टि भएको छ । केही दिनअघि पूर्वी नाका काँकडभिट्टा हुँदै भित्रिएका तीनवटा ट्रक विषेश सूचनाका आधारमा राजस्व टोलीले नियन्त्रणमा लिई सूक्ष्म अनुसन्धान गर्दा प्रज्ञापनपत्र नक्कली भएको पुष्टि भएको हो । भन्सार राजस्व नतिरी आलुलगायतका तरकारी र विभिन्न जातका बिरुवा बोकेर नेपाल भित्रिएका ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 

अनुसन्धानका क्रममा राजस्व छलेर भित्रिएका मालवाहक ट्रकमा आलुलगायतका तरकारी र विभिन्न जातका बिरुवाको प्रज्ञापनपत्र नै नक्कली पाइएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले जानकारी दिनुभयो । नक्कली प्रज्ञापनपत्रका आधारमा मेची भन्सार कार्यालयले गाडी छोडेको घटनालाई अनुसन्धान गर्दा त्यसमा संलग्न भन्सार कर्मचारीसमेत शङ्काको घेरामा परेका छन् । राजस्व कार्यालयले यस घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गर्ने क्रममा कर्मचारीको संलग्नताका विषयमा समेत अनुसन्धान गर्ने पनि खनालको भनाइ छ ।