• १ असार २०८२, आइतबार

‘हृदयभित्र लुकेको तरङ्ग’ विमोचित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १ गते । उत्रसेर राईको आत्मसंस्मरणात्मक कृति ‘हृदयभित्र लुकेका तरङ्ग’ शनिबार लोकार्पण गरिएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमबिच नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक सार्वजनिक गर्नुभयो ।

लेखकले पुस्तकमा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएपछि सेवानिवृत्त हुँदासम्म आफूले भोगेका अनुभव समेट्नुभएको छ । कार्यक्रममा कुलपति राईले लाहुरेबिच लेखन प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै पुस्तकले समाजलाई लाहुर र लाहुरेबारे नयाँ तथ्य पस्किएको विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकबारे समीक्षा गर्दै मुन्दुमविद् तथा समालोचक भोगीराज चाम्लिङले यसबाट लाहुरे हुने प्रक्रियाका सम्पूर्ण विवरण मात्र हैन जीवनका भर्ती भइसकेपछि भोग्नुपर्ने सम्पूर्ण तितामिठा अनुभवको जानकारी प्राप्त हुने बताउनुभयो । नेपाली समाजको राजनीतिक तथा शैक्षिक विकासको इतिहासमा लाहुरेको अत्यन्तै सम्मानित स्थान रहेको उल्लेख गर्दै उहाँले पुस्तकमार्फत लेखक राईले लाहुरे जीवनको महत्वपूर्ण पक्षबारे जानकारी प्राप्त हुने बताउनुभयो । 

लाहुरे नभएको भए २००७ सालको राजनीतिक परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उहाँले उनीहरू नेपाली समाजको प्रारम्भिक काल बौद्धिक भएको बताउनुभयो । समालोचक प्राडा विष्णु एस राईले पुस्तकले लेखक सिपाही भए पनि निकै भावुक र साहित्यिक भएको प्रमाणित गर्ने बताउनुभयो । लेखक राईले पहाडको दुर्गम स्थानमा जन्मिएर विभिन्न अप्ठ्यारा पार गर्दै लाहुरे भइसकेपछि देखिएको संसार र भोगिएको जीवनलाई शब्दमार्फत प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो ।