• ५ साउन २०८१, शनिबार

स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारको जाहेरी

blog

फाइल तस्बिर

लिलाधर वली

घोराही, जेठ ३१ गते। लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीविरुद्ध अभद्र व्यवहारमा जाहेरी परेको छ। 

तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क निवासी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा जाहेरी दिएको प्रहरीले जनाएको छ। पीडित बस्नेतले जाहेरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा दिनुभएको हो। 

स्वास्थ्य राज्यमन्त्री वलीले मंगलबार बिहान तुलसीपुर-५ बसपार्क स्थित बस्नेतको घरमा गएर छोरी एञ्जिला र आफूलाई गालीगलौज, कुटपिट र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जित स्वाँरले जानकारी दिनुभयो। बस्नेतलाई कुटपिट र अभद्र व्यवहार गरेपछि  राज्यमन्त्री वलीलाई प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ पर्नु भएकी राज्यमन्त्री वलीलाई थप अनुसन्धानका लागि भन्दै दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरबाट जिल्ला प्रहरी कार्यालय घोराही ल्याएको थियो। तर, साँझ बुटवल पठाएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार राज्यमन्त्री वली तुलसीपुर-५ बसपार्कस्थित एकराज बस्नेतलाई खोज्न गएपनि उनी चार दिनअघि घरबाट निस्केको र हाल सम्पर्कमा छैनन्। एकराज र खत्रीबीच सम्बन्ध रहेको विषय गत भदौमा नै सार्वजनिक भएको थियो। 

फेसबुकमार्फत् फोटो सार्वजनिक भएपछि त्यतिबेला उनीहरुले सम्बन्ध अस्वीकार गरेका थिए। खत्री २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट प्रदेश सांसद् निर्वाचित हुनुभएको हाे। वली नेकपा एमालेका तत्कालीन प्रदेशसभा सदस्य स्वर्गीय उत्तर वलीकी श्रीमती हुनुहुन्छ ।