काठमाडौँ, जेठ ३० गते। प्रतिनिधि सभाको अवरोध खुलाउन सत्ता पक्ष र विपक्षी दलले दुई बुँदे सहमति गरेका छन्। सत्ता पक्षको तर्फबाट नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला र विपक्षी दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गर्नुभएको छ।
यो सहमतिसँगै १५ दिनदेखि जारी प्रतिनिधि सभाको अवरोध खुल्ने भएको छ। शुक्रबार दिउँसो ३:१५ बजेका लागि बोलाएको बैठक अहिले साँझ ५:३० बजेका लागि सरेको संघीय संसद सचिवालले जानकारी गराएको छ।
सहमतिका दुई बुँदा
–भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।
–अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने।