• १५ वैशाख २०८१, शनिबार

नगरपालिकाको तालाबन्दी १० दिनसम्म खुलेन

blog

शिवराज ढुङ्गाना 

अछाम, जेठ ३१ गते। १६ वर्षीय एक व्यक्तिको हत्या भएको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा लगाइएको तालाबन्दी १० दिनसम्म खुल्न सकेको छैन। हत्यारालाई पक्राउ गरेर कानुनी कार्वाहीको मागसहित जेठ २२ गते नगरपालिकामा लगाइएको तालाबन्दी हालसम्म खुल्न नसकेको हो। 

ताला नखोलिएका कारण नगरबाट प्रवाह गरिने सार्वजनिक सेवा प्रभावित भएका छन्। तालाबन्दीपछि कार्यपालिका बैठक, विभिन्न सिफारिस, योजना सम्झौता, अनुगमन र रकम भुक्तानी र आगामी आर्थिक वर्षका लागि तय गरिने नीति तथा बजेटको काम प्रभावित भएको छ। 

नगरमा तालाबन्दी हुँदा नगरपालिकासँग सम्बन्धित नौवटै वडाको काम प्रभावित भएको बताइएको छ। यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ कालिकास्थानको वडा कार्यालयमा समेत तालाबन्दी गरिएको छ।  

 नवनिर्वाचित भएर शपथ ग्रहणपछिको पहिलो बैठकसमेत घटनाका कारण बस्न नपाएको नगरका उपप्रमुख हर्कबहादुर रावलको भनाइ छ। सहमतिका आधारमा नगरपालिका र वडामा लगाइएको ताला खोल्नका लागि पहल भइरहेको उपप्रमुख रावलको भनाइ छ। 

स्थानीय तहबाटै तालबन्दी खोल्नका लागि पहल गर्नुपर्ने भन्दै अन्तिममा प्रशासनको भूमिका रहने प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिनुभयो। स्थानीय तहमा समस्या समाधान नभए आफू सर्वदलीय बैठकबाट तालाबन्दी खोल्ने वातावरण तय गर्ने प्रजिअ मरासेनीको भनाइ छ। 

हत्याको योजनाकार नगरप्रमुख अम्बिका चलाउने रहेको भन्दै पीडित पक्षले चलाउनेसहित १३ जना विरुद्धमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय अछाममा जेठ २५ गते किटानी जाहेरी दर्ता गरेको छ। किटानी जाहेरीसँगै केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ। मृतक पक्षले किटानी जाहेरीमा नाम भएका सबैलाई पक्राउ नगर्दासम्म तालाबन्दी नखोल्ने अडान राख्दै आएको छ।  

स्थानीयको झडपपछि प्रहरी पुगे लगत्तै सम्पर्कविहीन भएका पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाहीको शव जेठ २१ गते वडा नम्बर ३ स्थित पञ्चदेवल क्याम्पस नजिकको खोचमा फेला परेको थियो। मृतकको शव फेला परेको पाँच दिनपछि पोष्टमार्टम गरेर परिवारले दाहसंस्कार गरेका थिए।