• २३ जेठ २०८२, शुक्रबार

विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहको पहल

blog

कालिमाटी गाउँपालिकाको कार्यालय, रामपुर सल्यान । तस्बिर : शंकर केसी

शंकर केसी,

सल्यान, जेठ २२ गते । वर्षातको समयमा हुनसक्ने सम्भावित विपद्को पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि विशेष सतर्कता अपनाउन सल्यानको कालिमाटी गाउँपालिकाले अपिल गरेको छ । 

मनसुन सक्रिय अवधिभर भूक्षय, बाढी, पहिरो, कटानका कारण जोखिमयुक्त स्थानहरूमा विशेष सावधानी अपनाउन गाउँपालिकाको अनुरोध छ । गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक दानबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले निर्णय गर्दै यस्ता सम्भाव्य जोखिमहरूको सामना गर्नका लागि पूर्वसावधानीका उपायहरू अवलम्बन गर्न आह्वान गरेको हो ।

नदी, खोला, नाला किनार एवं पहिरोको जोखिम आसपास बसोवास गर्ने बासिन्दालाई सतर्क अवस्थामा रहन आग्रह गरिएको छ । आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, भूक्षय, नदी कटानको जोखिम देखिएमा नजिकको सुरक्षा निकाय, वड़ा कार्यालय एवं कालिमाटी गाउँपालिकाको विपद् व्यवस्थापन शाखालाई खबर गर्न भन्दै गाउँपालिकाले सार्वजनिक सूचना समेत जारी गरेको छ ।

नदी तथा खोलामा बाढी आएको समयमा नदी नालामा माछा मार्ने, पौडी खेल्ने, काठ, दाउरा संकलन गर्ने जस्ता कार्यहरू नगर्न र मनसुन सक्रिय भएको बेला नयाँ बाटो खन्ने लगायतका डोजर एवं हेवी इक्विपमेन्ट प्रयोग गरी नयाँ संरचनाहरू निर्माण कार्य बन्द गर्न गाउँपालिकाको आग्रह छ । 

भूक्षय, नदी कटान, बाढी र पहिरो आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी विपद् व्यवस्थापनमा संलग्न सबै सरकारी एवं गैर सरकारी निकायहरूलाई उच्च सतर्क एवं तयारी अवस्थामा रहन भनिएको छ।

मौसम विभागबाट प्राप्त सूचना र हालसम्मको अनुभवका आधारमा असार र साउन महिनामा भारी वर्षा, बाढी, पहिरो, डुबान, चट्याङ लगायतका घटनाहरूको सम्भावना रहेको भन्दै गाउँपालिकाले पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि तदारुकता देखाएको हो ।