• १० मंसिर २०८१, सोमबार

बाँकेका स्थानीय तहमा बजेट निर्माणको प्रक्रिया जारी

blog

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, जेठ ३० गते । बाँकेका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९–८० को बार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी थालेका छन् । निर्वाचन सम्पन्न भई शपथ ग्रहण गरेलगत्तै निर्वाचित पदाधिकारीको ध्यान बजेट निर्माणमा छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बजेट निर्माण कार्य तीव्रगतिमा अघि बढेको बताउनुभयो । “हाल आन्तरिक रुपमा बजेट निर्माण भइरहेको छ”, नगरप्रमुख विष्टले भन्नुभयो,– “वडाहरुले बस्तीस्तरसम्म छलफल चलाएर योजना छनाेट गरिरहेका छन् ।”

यसैगरी राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसङ्ख्या, भुगोल र गत आर्थिक वर्षभन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपियाँसम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । 

गत आर्थिक वर्ष २०७८–७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको छ । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले बजेट बाँडफाट गरेको हो । गाउँपालिकाले वडा १, २ र ६ का लागि एक करोड ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । वडा ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा ७ का लागि एक करोड ९० लाख रुपियाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो,– ‘वडाको जनसङ्ख्या, भूगोलजस्ता मापदण्डलाई आधार बनाएर वडागत रुपमा बजेट विनियोजन गरेका छौं,’ । स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम (आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास र सुशासन) पाँचवटा विषयगत क्षेत्रमा रही नीति बजेट तथा कार्यक्रम तर्जुमा गरी पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

खजुरा गाउँपालिकाले बजेट निर्माणका लागि वडास्तरमा बस्तीमा भेला तथा अन्तरक्रिया गरिरहेको अध्यक्ष डम्बर विकले जानकारी दिनुभयो । जिल्लामा रहेका आठवटै स्थानीय तहमा असार महिनामा हुने बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि आन्तरिक र बाह्य तयारी भइरहेको छ ।