• १४ पुस २०८१, आइतबार

सफा, स्वच्छ र स्वस्थ काठमाडौं बनाऔँ

blog

निर्मल भण्डारी– 

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन साह) प्रमुख पदमा निर्वाचित भएपछि उपत्यकावासीको आशा पलाएको छ । तर आशासँगै फोहाेरी राजनीतिमा व्याप्त रहेको मुलुकमा उपत्यकाको फोहाेर नै उहाँलाई पहिलो चुनौतीको रुपमा देखापरेको छ । यो चुनौतीलाई उहाँलगायतको नेतृत्वकर्ताले समाधान गर्ने दिशामा पाइला चलाएको आभाष काठमाडौंवासीले पाएका छन् ।

काठमाडौंवासी कहिले पानी, कहिले ग्यास, कहिले बिजुलीको चपेटामा पर्दछन् ।  सबै सेवासुविधा हुने शहरको रुपमा राजधानी दर्ज हुन्छ तर नेपालको राजधानी अभावै अभावमा छ । कहिले होला विकास भनेर सरकारको मुख ताकेर जनता बसेका छन् । विकास र परिवर्तनको खोजीमा सधैं भौंतारिरहेका छन् । 

प्रमुख बालेनले सरसफाइको अभियान चलाउँदै गर्दा मैले पनि काठमाडौं उपत्यकालाई कसरी सफा र स्वच्छ बनाउन सकिन्छ ? भन्ने आफ्नो धारणा अगाडि बढाएको छु । सम्भवतः यो धारणा सबैले बुझेका छौँ तर यसलाई व्यवस्थित कार्यान्वयन गर्न हामीले सबैले सिके पनि व्यवहारमा लागू गर्न नसकेका हुन्छौँ । 

हामी काठमाडौंको सडक दैनिकजसो हिँडिरहेका हुन्छौँ । बिहान घरबाट निस्कँदा लगाएको लुुगा बेलुका घरपुग्दा लगाउन नहुने गरी मैलो भएको हुन्छ । बाहिर देखिने फोहाेर सफा गरौंला तर जुन धुँवा र धुलो हामी खान्छाैँ । यसले दीर्घकालीन रोगलाई निम्तो दिइरहेको हुन्छ । यसले हाम्रो सम्पत्ति र स्वास्थ्यको क्षति पुग्न जान्छ ।  

यस्तो अवस्थामा साच्चै काठमाडौँलाई सफा गर्न सकिँदैन र? अवश्य सकिन्छ । किन नसक्नु ? हामी सबै मिलेमा अवश्य पनि सफा हुन्छ । हामीले सोचे जस्तै शहर बनाउन सकिन्छ । यसको लागि करौडौंको बजेट पनि आवश्यक पर्दैन । सामान्य तरिकाबाट विश्वका सफा शहर जस्तै काठमाडौलाई पनि सफा शहरको सूचीमा सूचीकृत गर्न सकिन्छ । 

केही समय म सिङ्गापुर पुग्दा स्वर्गमा पुगेको जस्तो लाग्यो । काठमाडौंमा पान खाएर जथाभावी थुक्न र केरा खाएर बोक्रा सडकमा फाल्ने मेरो नेपाली मन १५ दिनसम्मको बसाइमा कहिले पनि थुक्न मन लागेन । त्यहाँ त्यस्तो कुनै पनि थुक्ने ठाउँ पनि भेटिनँ । कसैले फोहाेर गरेको पनि देखिनँ । बिहानै सडकका वरिपरि ठडिएका रुखका पातमा पानीले सफा गरिएको देख्दा भने मलाई झन् अचम्म लाग्यो । नेपालमा राम्ररी सडक त सफा गरिन्न भने सडकका रुखका पात कसले धुन्छ र ? 

काठमाडौं उपत्यकामा बस्ने सबैले मैले सिङ्गापुरमा जसरी थुकिनँ र फोहाेर गरिनँ, त्यसरी नै सबैले गरे  काठमाडौंको अवस्था कस्तो होला ? सिङ्गापुर नै त तत्काल नहोला, तर सोही दिशामा लैजान सकिन्छ । इच्छाशक्ति भए जस्तोसुकै चुनौती पनि पार लगाउन सकिन्छ, उदाहरणको रुपमा राजधानी काठमाडौं महानगरमा वालेन साहको विजय नै काफी छ । त्यसैले अब चुप लागेर नबसौँ । अब केही गरौँ । काठमाडौंलाई सफा, स्वच्छ र हराभरा बनाउन सकिन्छ । सोबारे केही उपायहरु पाठकसामु प्रस्तुत गर्न चाहन्छु । 

आफ्नो पसल अगाडि फोहाेर फाल्न नदिऔँ 

नगरपालिकाले पसल वरिपरि फोहर फाल्न नपाइने नियम लागू गर्नुपर्छ । पसल अगाडि फोहोर देखिएमा तुरुन्तै कार्वाही गराैँ । फोहर गरेको प्रकृति अनुसारको एकहजार देखि १० हजारसम्म जरिमानाको व्यवस्था गरौँ । यसो गरेमा कसैले पनि आफ्नो पसल अगाडि फोहाेर नै फाल्दैन । कसैले गरे भने पनि तुरुन्तै सफा गर्छन् । हरेक पसलले एउटा डस्बिन व्यवस्था गर्नैपर्ने नियम पनि बसालौँ । डस्बिनको आकार र रङ निर्धारण गरौँ । 

विद्यालय, सरकारी कार्यालय, अस्पताल, सङ्घसंस्था वरिपरि फोहाेरमुक्त बनाऔँ 

यी संस्थामा एउटा कागजको टुक्रासमेत हुन नहुने व्यवस्था लागू गराैँ । डस्बिनको कडाइको साथ व्यवस्था गर्न लगाऔँ । ती कार्यालयमा एक जना सरसफाइ कर्मचारीलाई नियमित रुपमा राखौँ । 

व्यक्तिमा सचेतना जगाऔँ 

कसैले पनि जथाभावी फोहर फालेमा निश्चित कानुनको व्यवस्था बनाउन सकिन्छ । कसैले चाउचाउ खाएर वा गुट्खा खाएर सडकमा खोल फालेमा पाँच सयदेखि एक हजारसम्मको जरिवाना लगाउने व्यवस्था गरौँ । यसो गरे व्यक्ति आफैँ सचेत हुन्छन् र फोहाेर गर्दैनन् । 

सबै नागरिक आफैँ सचेत होऔँ 

 कसैले सार्वजनिक स्थानमा फोहाेर फालेमा तुरुन्तै नजिकैको प्रहरीमा लगेर बुझाऔँ । तपाईंले यसो गर्नुभयो भने ऊ सचेत हुन्छ । कार्वाहीको डरले कसैले पनि लुकेर पनि फोहाेर फाल्दैन । 

टोल टोलमा सरसफाइ समिति गठन गरौँ 

हरेक टोल टोल विभाजन गरी, सरसरफाइ समिति गठन गरौँ । प्रत्येक तीन महिनामा उनीहरुको कामको मूल्याङ्कन गरौँ । राम्रो काम गर्नेलाई विभिन्न पुरस्कार दिने व्यवस्था गरौँ । पुरस्कारको लागि बास्केट फण्ड बनाऔँ, त्यसको लागि निजी क्षेत्रलाई आह्वान गराैँ । 

सवारी साधनमार्फत दैनिक एक रुपियाँ उठाऔँ  

प्रत्येक वर्ष सवारी साधन नवीकरण गर्दा दैनिक एक रुपियाँको दरले ३६५ रुपियाँ सरसफाइ कोषको लागि उठाऔँ । यसबाट कम्तीमा ११ लाख सवारी साधनबाट चार करोड बराबर उठ्छ । उठेको पैसा सहर सुधारको योजनामा मितव्ययितताको तरिकाले खर्च गरौँ । 

प्रत्येक पाँच सय मिटरमा सडकको दुई किनारमा डस्बिनको व्यवस्था गराैँ 

प्रत्येक सडकको पाँच सय मिटरको दूरीमा डस्बिन राखौँ । डस्बिनको सही प्रयोगको बारेमा सचेतना गराऔँ । प्रत्येक निजी क्षेत्रलाई त्यसमा विज्ञापन राख्ने व्यवस्था दिऔँ । यसबाट उनीहरुले गर्ने विज्ञापनको रकमबाट पनि सरसफाइको क्षेत्रमा खर्च गर्न सकिन्छ । 

स्वास्थ्य र सरसफाइको स्वयंसेवक तयार गरौँ  

हरेक नगरपालिकामा आवश्यकताअनुसारको स्वयंसेवक नियुक्त गरौँ । जसले शहरका सरसफाइसम्बन्धी गतिविधिको अनुगमन गर्छन् । यस्ता स्वयंसेवकको वृतिविकासको लागि जरिवानाबाट उठेको रकमबाट खर्च गरौँ । नेपालमा काम गर्ने विभिन्न सङ्घसंस्था जसले वातावरण, सरसफाइ र स्वच्छताको लागि काम गर्छन्, उनीहरुलाई स्वयंसेवकहरुको क्षमता विकासको लागि काम गर्न सहकार्य गरौँ । 

मेरो काठमाडौँ, सफा काठमाडौँको लागि नागरिक समाजबाट स्राेत सङ्कलन गरौँ 

मेरो धरहरा म आफैँ बनाउँछु, धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पपीडितको लागि रकम उठाउन सके । त्यसैगरी मेरो काठमाडाैं, सफा काठमाडौंको लागि नागरिक समाजबाट स्वेच्छिक स्राेत सङ्कलनको कुरा थालौँ । नागरिक समाज यस विषयमा सकारात्मक देखिन्छ । 

मिडियाको सशक्त परिचालन गरौँ  

मिडियाको हरेक अभियानमा संलग्न बराउन सक्दा त्यसले धेरै सकारात्मक सन्देश दिन सक्छ । नेपालका हरेक जनआन्दोलन सफल बनाउन मिडियाको भूमिका उल्लेखनीय छ । सबै मिडियालाई यसबारे सचेतना जगाउन स्वतःस्फुर्त लाग्नका लागि अनुरोध गरौँ । सरसफाइका राम्रा कामहरुको प्रचारप्रसार गर्न लगाऔं । वागमती नदी सरसफाइ अभियानमा मिडियाले खेलेको भूमिका प्रशंसनीय छ ।  

विदेशी स्वयम्सेवक परिचालन

संसारमा धेरै मानिस सरसफाइको क्षेत्रलाई कार्यक्षेत्र बनाउन आतुर छन् । यस्ता इच्छुकलाई  नेपालमा काम गर्ने सरकारले वातावरण बनाइदिनुपर्छ । नेपालमा रहेका यस्ता आतुर मनलाई पनि सरकारी पक्षबाट हौसला दिनुपर्छ ।

नगरप्रहरीको परिचालन 

नगरपालिकामा रहेका नगरप्रहरीलाई यस क्षेत्रमा व्यापक परिचालन गर्न आवश्यक छ । अन्य कामजस्तै यो कामको जिम्मेवारी पनि दिन आवश्यक छ । फोहाेर गर्नेलाई तुरुन्तै ठाउँको ठाउँ कार्वाही गर्दा अति उत्तम हुन्छ । 

काठमाडौं सफाइ अभियान साप्ताहिक शुरु गरौँ  

बागमती नदी अभियानजस्तै यो अभियानको थालनी आवश्यक भएको छ । निजी क्षेत्रलाई  सामाजिक उत्तरदायित्वको शीर्षकमा  कम्तीमा २० प्रतिशत रकम सरसफाइ अभियानमा खर्च गराउने नीति ल्याउन आवश्यक छ ।   

फोहाेर व्यवस्थापन गर्ने दरिलो नीति बनाऔँ 

विभिन्न अन्तराष्ट्रिय गैससहरुलाई सहर सफाको लागि आह्वान गराैँ । यसका लागि धेरै संस्थाहरु नेपालमा आउन तयार छन् । 

जिम्मेवारी र पारदर्शिता 

भ्रष्टाचारीको देश भनेर विश्वसामु नेपालमाथि आरोप छ । प्रत्येक चरणमा हामीले हाम्रो जिम्मेवारी पूरा गरौँ । जे गर्छाैँ, जस्ताको तस्तै जनतालाई देखाऔँ । आर्थिक पारदर्शिता विकासको सूचक पनि हो ।

सायद केही नगर्नुभन्दा यति मात्र गर्न सकेमा पक्कै ‘हाम्रो काठमाडौं, राम्रो काठमाडौं’ बनाउन सकिन्छ । कुरा हैन काम गरौँ । जसले जति सक्छ त्यति नै गरौँ । राष्ट्रको लागि काफी छ । फोहाेरी राजनीतिबाट दिक्क भएका काठमाडौंवासीलाई फोहरको यो राष्ट्रिय रोगबाट पनि सधैंको लागि टेन्सनमुक्त गर्न सकिन्छ । सिङ्गापुर बनाउने सोचका साथ राष्ट्रिय गौरवको रुपमा रहेको मेलम्चीको पानी काठमाडौं आइसकेको अवस्थामा सरसफाइको लागि पानीको भरपुर प्रयोग गर्न सकिन्छ नै, मेरो सिङ्गापुरको भ्रमणमा देखिएको वास्तविक सिङ्गापुरलाई अलकापुरी कान्तिपुरी नगरी बनाउन सकिन्छ । 


Author
निर्मल भण्डारी

उहाँ सामाजिक अध्ययनमा विद्यावारिधिरत हुनुहुन्छ

लेखक बाट थप