काठमाडौँ, फागुन १७ गते । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद चौधरीले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरी किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले आन्दोलनरत किसानहरूसँग भएका सामग्रीहरू समेत सरकारले डकैँती शैलीमा खोसेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौं राज्यसँग सुन्नका लागि कान छैन, हेर्नका लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहरू डकैँती शैलीमा खोसिएको छ । यदि यसलाई ठिक मान्ने हो भने हामी पनि इँटाको जवाफ पत्थरले दिन्छौं । अब त अत्ति भयो । अत्ति भए खति हुन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ ।’’
उहाँले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गर्नुभयो ।