काठमाडौँ, फागनु २७ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । सहरी विकास मन्त्रालयमा मङ्गलबार उपप्रधानमन्त्री सिंहले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरूसँग छलफल गर्नुभएको हो । सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा प्रमुख र उपप्रमुखहरूले धारणा राख्नुभएको थियो ।
उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सफा, स्वच्छ र यहाँ बग्ने नदीहरूलाई सफा बगाउनका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपत्यकाका नदी प्रणाली स्वस्छ बनाउन सेफ्टी ट्याङ्क अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले सेफ्टी ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रूपमा अगाडि बढाउनुपर्नेमा आफ्नो जोड रहेको बताउनुभयो ।
‘‘उपत्यकाका बग्ने नदीहरूलाई स्वच्छ बनाउनुपर्यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेफ्टी ट्याङ्की बनाउने अभियानमा लाग्नैपर्छ । अब नयाँ बन्ने ठाउँमा सेफ्टी ट्याङ्क हरेक घरमा बनाउनुपपर्यो । जहाँजहाँ घर बनिसके, ठाउँ छैन भने १०÷१५ घरको एक ठाउँमा भए पनि सेफ्टी ट्याङ्की बनाउनुपर्यो,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ । त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेफ्टी ट्याङ्कको अभियाननै चलाउनैपर्यो । नत्र, नदी स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन ।’’
उहाँले उपत्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफूले सहरी विकास मन्त्रालय सम्हालेदेखिनै बागमती र धोबिखोलामा अर्बौ खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको र त्यसलाई सच्याउँदै सिँधै ढल मिसाउन नदिनका लागि आवश्यकाम अघि बढाउन भनिसकेको बताउनुभयो ।
छलफलमा उपत्यकाका भिभिन्न पालिकाक प्रमुख र उपप्रमुखहरूले फोहोरमैला व्यवस्थापन, नदिको स्वच्छता र सफाई, सहरी पूर्वाधारको विकासमा आउने बजेटले सम्बोधन गर्नुपर्ने बताएका थिए ।
उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्नयोग्य व्यवस्थित सहर बनाउनका लागि पालिकामा गर्न सकिने कामबारे कार्ययोजना पेस गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधनका लागि अघि बढ्ने बताउनुभएको छ ।