• १९ असार २०८१, बुधबार

स्वयंसेवक शिक्षकले पाएनन् तलब

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ ३० गते । सर्लाहीको बसबरिया गाउँपालिका–६, सहोडवामा रहेको एक संस्थाले स्वयंसेवक शिक्षक राखेर ठगी गरेको पाइएको छ । बसबरियाको दिगो विकासका लागि स्थानीय अग्रसरता केन्द्र नामक संस्थाले गएको वर्ष असोज, कात्तिकमा विभिन्न विद्यालयमा स्वयंसेवक शिक्षक राखेको थियो तर ती शिक्षकले अहिलेसम्म तलब पाएका छैनन् । 

स्वयंसेवक शिक्षकका रूपमा काम गरेकाले सो संस्थाबाट आफूहरू ठगिएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयले सुरुमा गुनासो लिएर आउने नौ जना शिक्षकलाई संस्थाबाट जनही एक लाख रुपियाँभन्दा बढी तलब उपलब्ध गराएको थियो । पछि फेरि थप शिक्षकले तलब नपाएको भन्दै कार्यालयमा पुगेपछि ठगीको रहस्य बाहिर आएको हो ।

कार्यालयले गएको वैशाख १४ गते सूचना नै जारी गर्दै सो संस्थाबाट स्वयंसेवक शिक्षकमा नियुक्त भई कोही-कसैले काम गरेको भए सम्पर्कमा आउन आग्रह गरेको थियो । महिनौँ काम गरेका स्वयंसेवक शिक्षक तलब नपाएपछि मारमा परेका छन् । कविलासी नगरपालिका–४, हेमपुरमा रहेको फकिरा शीतलमाई प्राथमिक विद्यालयमा गएको कात्तिकदेखि स्वयंसेवक शिक्षक भई काम गर्नुभएकी अञ्जली यादवले तलबबापत एक रुपियाँ पनि नपाएको गुनासो गर्नुभयो । 

आफूहरू ठगिएको थाहा पाएपछि यादवसहितका शिक्षकहरू अहिले जिल्ला प्रशासन कार्यालयको शरणमा पुगिरहेका छन् । स्थानीय अग्रसरता केन्द्र नामक संस्था बसबरियाले कुन आधारमा स्वयंसेवक शिक्षक राखेको थियो भन्ने खुल्न सकेको छैन ।  

सूचना जारी गरेपछि एक सयभन्दा बढी शिक्षक जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा पुगेका छन् । तलब नपाएको भन्दै शिक्षकहरू सम्पर्कमा आएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरी लगाएर दिगो विकासका लागि स्थानीय अग्रसरता केन्द्र नामक संस्थाका अध्यक्ष सरोज अधिकारीको खोजी सुरु गरेको छ । अधिकारी अहिले फरार भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो । प्रजिअ गौतमले फरार रहेका अधिकारीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।