• १९ जेठ २०८२, सोमबार

नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको प्रयोग गर्नुहोस् : कानुनमन्त्री

blog

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीया शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ १७ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकाले आम नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्नुहुँदै मन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।

कानुनमन्त्री चौरसियाले न्यायपालिकाले दिएको न्यायका आधारमा जनतामा विश्वास बढ्ने र दक्षिण एशियामै उत्कृष्ट ठहरिएको न्यायपालिका अझ सक्षम बन्ने बताउनुभयो । आम नागरिकको आशा र भरोसाको केन्द्र न्यायपालिका भएकाले न्याय निरुपण गर्दा र निरुपण गरिएका हरेक विषय कार्यान्वयनमा न्यायमूर्तिहरूको महत्त्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।

‘‘न्यायमूर्तिहरुले न्याय निरुपण गर्दा निरुपण गरिएका हरेक विषय कार्यान्वयन गर्नुहुन्छ । मान्छे सरकारबाट होस् वा कार्यपालिकाबाट हुने कुनै किसिमको अन्यायको आशा र भरोसाको केन्द्र न्यायपालिका नै हो ।,’’ उहाँले भन्नुभयो, ‘‘देशभरका न्याय निरुपण गर्ने जिम्मेवारी श्रीमानहरुकै हो । मधेशमा एउटा कथा छ कुनै पढेलेखेको विद्वान मान्छे आफ्ना बालबच्चा र परिवार लिएर ससुराल जाँदै थियो । इन्जिनियर नदी किनारामा कति गहिरो छ भन्दै नापेर रेसियो निकालेर सबै परिवारलाई खोला तर्न खोलामा छिराइदियो ।’’

व्यवस्थापिकाले कानुन बनाइदिने, कार्यपालिकाले प्रयोग गर्ने भएकाले संविधानसम्मत कानुन बनेको छ वा छैन र कार्यपालिकाले ठिक ढङ्गले प्रयोग गरेको छ कि छैन भनेर अनुगमनको जिम्मेवारी पनि न्यायपालिकाकै भएको उहाँको भनाइ छ ।

मन्त्री चौरसियाले भन्नुभयो, ‘‘दक्षिण एशियामै उत्कृष्ट ठहरिएको न्यायपालिका अझ सक्षम बन्छ । व्यवस्थापिकाले कानुन बनाइदिने, कार्यपालिकाले प्रयोग गर्ने, संविधानसम्मत कानुन बनेको छ कि छैन, कार्यपालिकाले ठीक ढङ्गले प्रयोग गरेको छ कि छैन ? त्यसको सबै अनुगमन गर्ने काम भनेको न्यायपालिकाले हो ।’’ उहाँले न्यायपालिकालाई आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो ।