• १९ जेठ २०८२, सोमबार

बानियाँलाई आभास साहित्य सम्मान, उत्कृष्ट साहित्य पुरस्कार ‘अर्हत्’ लाई

blog

सम्मानित वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँ र आख्यानकार शैलेन्द्र अधिकारी ।

काठमाडौँ, जेठ १७ गते । आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ ।

यसैगरी, कोषले ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ समर्पण गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकीले बानियाँ र अधिकारीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरे ।


उक्त अवसरमा बुढाथोकीले साहित्यको क्षेत्रमा वर्षौंदेखि काम गरेका व्यक्ति र कृतिको सम्मान गरेर कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्वबारे कवि तथा समीक्षक शकुन्तला जोशी र हेमप्रभासले चर्चा गर्नुभएको थियो । जोशीले समीक्षा र समालोचना गर्दा बानियाँको निष्ठापूर्वक कलम चलाउने र कृतिमाथि न्याय दिने आम विश्वास रहेको टिप्पणी गर्नुभयो भने अर्का समीक्षक प्रभासले अर्हत् आद्योपान्त पठनीय र उत्प्रेरक कृति रहेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व बानियाँले सम्मान र पुरस्कारले साहित्य साधकहरूलाई अगाडि बढ्न ऊर्जा दिने अनुभव सुनाउनुभयो ।

कोषका अध्यक्ष बालकृष्ण श्रेष्ठले कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत यस प्रकारका पुरस्कार र सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा कोषका संरक्षक श्यामकुमार श्रेष्ठ, सञ्चारकर्मी प्रकाश थापा, दीपक सापकोटा लगायतले आआफ्नो धारणा राखेका थिए ।

यसअघि उक्त पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ) लाई प्रदान गरिएको थियो । सम्मान तथा पुरस्कारको राशि डेढ लाख र एक लाख रुपियाँ रहेको छ । 

सम्मानित बानियाँ तीन दशकदेखि साहित्य लेखन, समालोचना र सम्पादन क्षेत्रमा सक्रिय हुनुहुन्छ  । पुरस्कृत अधिकारीका ‘अर्हत्’ सहित ‘निर्वेद’ र ‘ब्रह्मास्त्र’ आख्यानकृति प्रकाशित छन् ।