• ११ असार २०८२, बुधबार

कृषि यान्त्रिकीकरणमा तीन करोड ६० लाखको लगानी

blog

कृषिमा यान्त्रिकीकरणका लागि फिदिम नगरले खरिद गरेका कृषि उपकरणहरू । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, जेठ १५ गते । कृषि उत्पादन वृद्धि र श्रम लागत घटाउने उद्देश्यले फिदिम नगरपालिकाले तीन करोड ६० लाख रुपियाँ बराबरको कृषि औजार तथा उपकरण खरिद गरेको छ ।

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरवासी कृषकको जीवनस्तर रूपान्तरण गर्न यान्त्रिकीकरणतर्फको प्रविधि हस्तान्तरणमा लगानी गरिएको हो ।

नगरपालिकाले हालै खरिद गरेका उपकरणहरूमा १८१ थान मिनी टिलर, १६० थान च्याफ कटर, ५४४ थान टनेल, ६५ थान पानी पोखरी, १८५ थान राइस मिल, ११ थान मकै छोडाउने मेसिन, २ थान उखु मिल, ४० थान स्प्रेयर, ९०० वर्ग मिटर इन्सेट नेट, ५३ थान काउ म्याट, २० थान फ्रिज, १४० थान मिल्क क्यान, ४ थान मिल्क एनालाइजर र २० थान पाँच सय लिटरको पानी ट्याङ्की रहेका छन् ।

उपकरणहरू पाँच वटा ठेक्का तथा इ–बिडिङ प्रणालीमार्फत खरिद गरिएको हो । विद्युतीय खरिद प्रणालीको प्रयोगबाट कुल अनुमानित लागतमा ५२ लाख ५ हजार ९८५ रुपियाँको बचत भएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

उपकरण वितरण सम्बन्धित वडाको सिफारिसका आधारमा गरिने छ । नगरपालिकाले यसअघि पनि गोठ सुधार, नश्ल सुधार तथा उन्नत जातका बिउ वितरण लगायत कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नगरपालिकाले यस्ता कार्यक्रम मार्फत कृषिलाई आधुनिक, व्यवसायिक र आम्दानीमुखि बनाउने रणनीति लिएको जनाएको छ ।