• १६ जेठ २०८२, शुक्रबार

‘सीआइएनले सकारात्मक सोच विकासका लागि अभियान चलाउनुपर्छ’

blog

कार्यक्रममा सहभागी आयोजक र अतिथि ।

काठमाडौँ,जेठ १४ गते।  सांसद तथा सरोकारवाला निकायका प्रतिनिधिले सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मुलुकमा सकारात्मक सोच र विचारको विकासका लागि अभियान चलाउनुपर्ने सुझाव दिएका छन्।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालद्वारा  सीआईएनको १७ ‌औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा बुधबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सकारात्मक परिवर्तनका लागि सीआईएनले गरिरहेको योगदानको प्रशंसा गरेका छन्। 

सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले समाचारको सहज र भरपर्दो माध्यम रेडियो नै रहेको उल्लेख गर्नुहुँदै पत्रकार महिलाको पेशागत जग बसाल्नका लागि सीआईएनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।


उहाँले सीआईएनसँग भविष्यमा पनि सञ्चारिका समूहले विषय र परिस्थिति अनुसार सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले नेपालका सामुदायिक रेडियोहरूले भाषा, राम्रा परम्परा बचाउनका लागि सहयोगी भूमिका खेलेको धारणा राख्नुभयो।

सीआईएनले आगामी दिनमा रेडियो सामग्री बनाउँदा भाषा, वर्ग र समुदायको विविधतालाई समावेश गर्नुपर्ने सुझाव दिनुहुँदै अध्यक्ष चौधरीले किसान, सर्वसाधारण जनताले खेतीकिसानी गर्दै रेडियो सुन्न सजिलो हुने भएका कारण यो माध्यम सबैको सजिलै पहुँचमा रहेको बताउनुभयो।

बीबीसी मिडिया एक्सनका सम्पादक किरण भण्डारीले प्रविधिको उपयोग गर्दै समय सुहाउँदो सामग्री उत्पादन नगरी भविष्यमा रेडियोको अस्तित्व जोगिन कठिन हुने बताउनुभयो।

सकारात्मक सोच विकासको क्षेत्रमा क्रियाशील संस्था इरिप्सका प्रमुख डा. रामचन्द्र लामिछानले समाजमा अचेल नकारात्मक विचारले प्राथमिकता पाइरहेको अवस्थामा सीआईएनले आगामी दिनमा विशेष अभियान चलाउँदा प्रभावकारी हुने धारणा राख्नुभयो।

हाल सीआईएनले चलाएको हानिकारक प्रथा र परम्परा अन्त्यको अभियान प्रभावकारी भएको बताउनुभयो।


दिगो फाउण्डेशनका प्रमुख बालकृष्ण पोखरेलले रेडियोको प्रभावका बारेमा सकारात्मक धारणा बनाउनका लागि पनि सीआईएनले नमूना बनेर स्थापित हुन सकेकोमा प्रशंसा गर्नुभयो।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का सचिव भक्त स्याङ्तानले सामुदायिक रेडियोहरूसँगको सहकार्यमा सीआईएनले सुरु गरेका अभियानको प्रभाव र सन्देशको सकारात्मक पर्दै गएकोमा खुसी व्यक्त गर्नुभयो।

संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले व्यक्ति र समाजमा रहेका सकारात्मक पक्षको उजागर गर्नुहुँदै आगामी दिनमा सीआईएनले अरु सञ्चारमाध्यमको भन्दा फरक बनेर देखाउन सुझाव दिनुभयो।

अकोराबका पूर्व अध्यक्ष तथा अमार्क एसिया प्यासेफिकका सहअध्यक्ष सुवास खतिवडाले सीआईएनलाई सामुदायिक रेडियोहरूका बीचमा नमूना र आदर्शको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो। सामुदायिक रेडियोकर्मीको क्षमता विकासमा पनि सीआईएनले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो।

सांसद रामप्रकाश चौधरीले सत्यतथ्य सूचनाका लागि रेडियो नै भरपर्दो माध्यम भएको उल्लेख गर्नुहुँदै आफूले बिहान र साँझ सीआईएनबाट देशविदेशमा भए गरेका गतिविधिका बारेमा जानकारी लिने गरेको बताउनुभयो।

संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले कृषि र प्राकृतिक स्रोतको बारेमा सीआईएनमार्फत आउने समस्या समाधानका लागि आफू जहिल्यै सकारात्मक रहेको बताउनुभयो।

विगतमा पनि सीआईएनले कृषिका समाचारलाई प्राथमिक्ता दिएको उल्लेख गर्नुहुँदै भविष्यमा सकारात्मक सोच विकासका लागि पनि त्यसतर्फ जोड दिनुपर्ने बताउनुभयो। 

अकोराबका अध्यक्ष अर्जुन गिरीले सीआईएनले सामुदायिक रेडियोकर्मीको क्षमता विकासमा पनि विशेष भूमिका खेलेको बताउनुभयो। 


यो पनि पढ्नुहोस

सिआइएनको वार्षिकोत्सव : तीन पत्रकार पुरस्कृत