• १६ जेठ २०८२, शुक्रबार

सिआइएनको वार्षिकोत्सव : तीन पत्रकार पुरस्कृत

blog

सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार ।

गोरखापत्र अनलाइन 

काठमाडौं, जेठ १४ गते । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्कको १७ औं वार्षिकोत्सवमा तीन जना पत्रकार पुरस्कृत हुनुभएको छ । सो अवसरमा गोरखापत्र दैनिकको सर्लाही समाचारदाता जनार्जन खत्री ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ । 

सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराब) नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) को १७ औँ स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गोरखापत्रकर्मी खत्री सम्मानित हुनुुभएको हो । 

सामुदायिक रेडियो एकता सर्लाहीका समाचारवाचक समेत रहेका खत्रीलाई सीआइएनले सामुदायिक पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा सकारात्मक भूमिका निर्वाह गर्नुका साथै सीआइएनमा उत्कृष्ट रिपोर्टिङ गरेर समुदायमा सवाल स्थापित गर्न गरेको योगदानको कदर गर्दै खत्रीलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी नगद १५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।  

खत्रीलाई अकोराबका अध्यक्ष अर्जुन गिरी, सर्लाही क्षेत्र १ का प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, अकोराबका पूर्व अध्यक्ष सुवास खतिवडा र सङ्घीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले सम्मान गर्नुभयो । 

गोरखापत्रकर्मी खत्रीसँगै सामुदायिक रेडियो शैलुङ दोलखामा कार्यरत विना घिमिरे र सीआइएनमै कार्यरत पत्रकार उषा तामाङ पनि पुरस्कृत हुनुभयो । उहाँहरु सबैको पुरस्कार राशी १५ हजार नगद र सम्मानपत्र रहेको छ । 

सो अवसरमा सिआइएनले १७ औं वार्षिकोत्सव पनि मनाएको छ । कृषि, सहकारी समितिका सभापति कुसुमदेवी थापा, सांसद रामप्रकाश चौधरी, संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्मा, अकोरावका पूर्व अध्यक्ष सुवास खतिवडा, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, सञ्चारिक समूहका अध्यक्ष कमला पन्थी, पत्रकार डा. रामचन्द्र लामिछाने, किरण भण्डारी, दिपक आचार्य, यूएनडिपीका प्रतिनिधि दिलादत्त पन्त, बालकृष्ण पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।