• १५ असार २०८१, शनिबार

प्रसारण लाइनमा झुण्डिएकालाई उद्धार गर्न ऊर्जामन्त्रीको निर्देशन

blog

फाइल तस्बिर

काठमाडौं, जेठ २८ गते। नुवाकोटको ककनी-७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशुली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा एक व्यक्ति चढेपछि निजलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्देशन दिनुभएको छ।

आज बिहान ११ बजे सो प्रशारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध छ। उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशेभर परेको छ। प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ। प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ। 

माथिल्लो त्रिशुली थ्री ए ६० मेगावाट क्षमतामा नै चलीरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ। 

स्थानीयवासीका अनुसार प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन्। उनलाई प्रहरी र स्थानीयवासीले निरन्तर तल झार्ने प्रयास गरे पनि हालसम्म सफलता हात लागेको छैन। प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले झण्डै सात घण्टादेखि ६५ मेगावाट बिजुली प्रणालीबाट बाहिर रहेको जानकारी दिनुभयो। 

मन्त्री भुसालले प्रसारण लाइनमा झुण्डीएका माइलाको उद्धारका लागि नेपाली सेनालाई आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो “विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भएपनि उद्धार गरौ भनेर सेनालाई आग्रह गरेको छु।”